राइडरहरूले खोजे बीमा सुरक्षा ग्यारेन्टी, के–के छन् माग?

२२ श्रावण २०८३, शुक्रबार १३:०८

काठमाडौं । पछिल्ला केही दिनयता राइड–सेयरिङ सेवा इन्ड्राइभका राइडरहरू विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन्। उचित पारिश्रमिकसँगै दुर्घटनाको जोखिममा काम गरिरहेका चालकका लागि बीमा सुरक्षा ग्यारेन्टी सुनिश्चित गर्नुपर्ने माग गर्दै उनीहरु सडकमा आएका हुन् ।

ललितपुरको कुपण्डोलस्थित इन्ड्राइभ कार्यालय अगाडि धर्ना तथा प्रदर्शन गरिरहेका राइडरहरूले कम्पनीले श्रमिकको श्रमको उचित मूल्यांकन नगरेको, चालकमैत्री नीति नअपनाएको र सामाजिक सुरक्षातर्फ बेवास्ता गरेको उनीहरुको भनाई छ । दैनिक सडकमा जोखिम मोलेर काम गर्ने चालकका लागि प्रभावकारी दुर्घटना तथा स्वास्थ्य बीमा व्यवस्था नभएसम्म आफूहरू सुरक्षित महसुस गर्न नसक्ने हुँदा बीमाको सुरक्षा अनिवार्य हुनुपर्ने उनीहरु बताउछन् ।

राइडरहरूका अनुसार अहिलेको भाडादरले इन्धन, सवारी मर्मत, बीमा, कर तथा दैनिक सञ्चालन खर्चसमेत धान्न कठिन भएको छ। खर्च निरन्तर बढ्दै गए पनि आम्दानी त्यसअनुसार नबढ्दा आर्थिक दबाब बढेको उनीहरूको भनाइ छ। उनीहरूले वैज्ञानिक आधारमा भाडादर निर्धारण गरी श्रमको उचित मूल्य सुनिश्चित गर्न पनि माग गरेका छन्।

त्यस्तै चालक–राइडरमैत्री नीति लागू गर्न, श्रमिकको अधिकार सुनिश्चित गर्न, दुर्घटनामा परेका चालकका लागि प्रभावकारी राहत व्यवस्था गर्न तथा कम्पनी र चालकबीच पारदर्शी समन्वय कायम गर्नुपर्ने मागसमेत आन्दोलनरत राइडरहरूले अघि सारेका छन्।

स्वतन्त्र चालक फाउन्डेसन नेपालको आह्वानमा भइरहेको आन्दोलनलाई थप सशक्त बनाउने तयारीसमेत गरिएको छ। आन्दोलन कुनै व्यक्ति वा सेवा लक्षित नभई श्रमिकको सम्मान, सुरक्षित कार्य वातावरण, सामाजिक सुरक्षा र न्यायपूर्ण पारिश्रमिकका लागि भएको उनीहरूको भनाइ छ। आवश्यक परे अन्य राइड–सेयरिङ प्लेटफर्ममा आबद्ध चालकका साझा समस्यालाई समेत उठाउने तयारी रहेको आन्दोलनरत राइडरहरूले बताएका छन्।

इन्ड्राइभ राइडरको विद्रोह: ‘श्रमको मूल्य देऊ, नत्र देश छोड्छौं’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*