युनिलिभर नेपालको नाफा खस्कियो, ईपीएसमा पनि गिरावट

२८ श्रावण २०८३, बिहीबार ११:५८

काठमाडौँ ।  युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य गिरावट आएको छ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ५७ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा हासिल गरेको १ अर्ब ९७ करोड २६ लाख रुपैयाँको तुलनामा २०.०५ प्रतिशत कम हो।

कम्पनीको नाफा घट्नुमा आम्दानीमा आएको कमी र खर्चमा भएको वृद्धि मुख्य कारण देखिएको छ। समीक्षा अवधिमा सञ्चालन आम्दानी ४.०३ प्रतिशत घटेर ७ अर्ब ९१ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ८ अर्ब २४ करोड ५७ लाख रुपैयाँ थियो।

त्यसैगरी, कम्पनीको कुल आम्दानी ४.४० प्रतिशतले घटेर ८ अर्ब ३ करोड ६३ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष कुल आम्दानी ८ अर्ब ४० करोड ६३ लाख रुपैयाँ रहेको थियो। आम्दानी घटे पनि कम्पनीको कुल खर्च भने २.२२ प्रतिशत बढेर ६ अर्ब ९ करोड ८२ लाख रुपैयाँ पुगेको छ।

नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। समीक्षा अवधिमा वार्षिकीकृत ईपीएस १ हजार ७१२ रुपैयाँ २७ पैसामा झरेको छ, जुन अघिल्लो वर्षको २ हजार १४१ रुपैयाँ ८० पैसाभन्दा ४२९ रुपैयाँ ५३ पैसा कम हो।

असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ५ हजार ५३९ रुपैयाँ रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात २७.५७ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।

कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ। यस्तै, समीक्षा अवधिको अन्त्यसम्म रिटेन्ड अर्निङ ५० करोड ७६ लाख रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*