किन जाँदैछन् रवि लामिछाने भारत?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि आज भारत जाने भएका छन्। लामिछानेको यो भ्रमण धार्मिक तथा आध्यात्मिक यात्रामा केन्द्रित रहने उनको निजी सचिवालयले जनाएको छ।
भ्रमणका क्रममा लामिछाने परिवारसहित भारतका दुई प्रसिद्ध धार्मिकस्थलमा पुगेर पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ। उनी भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा दर्शनका लागि जाने भएका हुन्।
निजी सचिवालयका अनुसार लामिछानेले तीन दिन भारतमा बिताउनेछन्। भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटनका रूपमा लिइएको सचिवालयले स्पष्ट पारेको छ।
धार्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।











