सुपर मादी हाइड्रोपावरको साधारणसभा आह्वानः १५ प्रतिशत बोनस शेयर दिने, २ः१ अनुपातमा हकप्रद ल्याउने

१० भाद्र २०८३, बुधबार ०८:०२

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले ताप्लेजुङमा निर्माणाधीन २८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक रकम जुटाउन हकप्रद शेयरसमेत निष्कासन गर्ने प्रस्ताव गरेको छ।

कम्पनीले आगामी असोज १ गते काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजे १७औं वार्षिक साधारणसभा बोलाएको छ। सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्तिलगायतका विषयमा छलफल हुनेछ।

सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ। कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँ रहेको छ। यसअनुसार ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस शेयर वितरण गरिनेछ।

बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ६६ करोड २५ लाख ३७ हजार ५०० रुपैयाँ पुग्नेछ। त्यसपछि कम्पनीले सोही चुक्ता पूँजीको २ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ। प्रस्तावअनुसार १ करोड ३३ लाख १२ हजार ६८८ कित्ता हकप्रद शेयर निष्कासन गरिनेछ।

कम्पनीले बोनस शेयर र हकप्रद निष्कासनपछि आफ्नो अधिकृत, जारी तथा चुक्ता पूँजीसमेत वृद्धि गर्ने प्रस्ताव गरेको छ। प्रस्तावअनुसार अधिकृत र जारी पूँजी ३ अर्ब ९९ करोड ३८ लाख ६ हजार ३०० रुपैयाँ तथा चुक्ता पूँजी २ अर्ब ६६ करोड २५ लाख ३७ हजार ५०० रुपैयाँ कायम गरिनेछ।

त्यस्तै कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.७८९४७ प्रतिशत अर्थात् करिब १ करोड ८२ लाख ७८ हजार २८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ।

साधारणसभा तथा बोनस शेयर वितरणका लागि कम्पनीले भदौ २३ गते शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। त्यसैले भदौ २२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार गरी आफ्नो नाममा शेयर कायम भएका शेयरधनीले साधारणसभामा सहभागी हुन तथा बोनस शेयर प्राप्त गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*