उद्धार र राहतका लागि ग्लोबल आइएमई क्यापिटलको १० लाख सहयोग

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा व्यापक कटान तथा डुबान हुँदा ठूलो मात्रामा मानवीय र भौतिक क्षति भएको छ। बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति क्यापिटलले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावित नागरिकलाई तत्काल खाद्यान्न तथा बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्संरचनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको क्यापिटलले जनाएको छ।









