चुनौतीबीच मञ्जुश्री फाइनान्सको साख कायमै, खराब कर्जा नियन्त्रणमा

काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडको जारीकर्ता साख मूल्याङ्कन पुनः कायम गरिएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई प्रदान गरेको ‘केयर एनपी डबल बी प्लस’ जारीकर्ता साख मूल्याङ्कनलाई पुनः कायम गरेको हो।
यस श्रेणीमा पर्ने संस्थामा वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतासँग सम्बन्धित जोखिम मध्यम स्तरको रहने जनाइएको छ। मूल्याङ्कन पुनः कायम गर्नुका प्रमुख आधारमा मञ्जुश्री फाइनान्सको सन्तोषजनक सञ्चालन अवस्था, स्थिर नाफा तथा प्रतिफल सूचकलाई लिइएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनासम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले चुनौतीपूर्ण बैंकिङ वातावरणका बाबजुद आफ्नो वित्तीय कार्यसम्पादनलाई सन्तुलित राख्न सफल भएको देखिएको छ।
कम्पनीको पूँजी पर्याप्तता पनि नियामकीय न्यूनतम सीमाभन्दा सहज अवस्थामा रहेको उल्लेख छ। बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो दबाबका बीच पनि मञ्जुश्री फाइनान्सले खराब कर्जाको स्तरलाई उद्योगको औसतभन्दा तल राख्दै तुलनात्मक रूपमा नियन्त्रणमा राख्न सफल भएको मूल्याङ्कन संस्थाले जनाएको छ।
गत वर्षको तुलनामा कम्पनीको कर्जा गुणस्तरमा सुधार आएको देखिएको छ। निरन्तर कर्जा असुली, अनुशासित कर्जा प्रवाह तथा सक्रिय कर्जा व्यवस्थापनका कारण सम्पत्तिको गुणस्तरमा सुधार आएको जनाइएको छ। यद्यपि चालु आर्थिक वर्षको पहिलो नौ महिनामा मौसमी प्रभावका कारण खराब कर्जा केही बढे पनि त्यसको असर कम्पनीको समग्र साख अवस्थामाथि उल्लेख्य नपरेको मूल्याङ्कनमा उल्लेख छ।
कम्पनीको लामो सञ्चालन अनुभव, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन समूह, चालु तथा बचत खातामा निरन्तर वृद्धि र निक्षेपको संरचनामा आएको सुधारले पनि मूल्याङ्कनलाई बल पुगेको छ। ठूला ऋणीमा रहेको मध्यम स्तरको कर्जा एकाग्रता, लगानी विस्तार तथा कम जोखिमयुक्त क्षेत्रमा कर्जा पोर्टफोलियो पुनःसन्तुलनले कम्पनीको व्यावसायिक स्थायित्व र जोखिम सामना गर्ने क्षमतालाई थप सहयोग पुगेको बताइएको छ।
तर नियामकीय जोखिम, सीमित भौगोलिक क्षेत्रमा व्यवसायको एकाग्रता तथा बैंक तथा वित्तीय संस्थाबीचको तीव्र प्रतिस्पर्धा कम्पनीका प्रमुख चुनौतीका रूपमा रहेका छन्। आगामी दिनमा कर्जा गुणस्तरलाई थप सुदृढ बनाउँदै व्यवसाय विस्तार गर्नु, पूँजी पर्याप्तताको स्तरलाई नियामकीय न्यूनतम सीमाभन्दा पर्याप्त दूरीमा कायम राख्नु तथा नेपाल राष्ट्र बैंकबाट हुन सक्ने नीतिगत तथा नियामकीय परिवर्तनको प्रभाव व्यवस्थापन गर्नु कम्पनीका लागि महत्वपूर्ण रहने मूल्याङ्कन संस्थाले जनाएको छ।









