रिज लाइन इनर्जीको लाभांश पारित, मैवा खोला आयोजना सहायक कम्पनीलाई हस्तान्तरण गरिने

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले शेयरधनीलाई करसहित १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले उक्त लाभांश प्रस्ताव स्वीकृत गर्नुका साथै १२.५०४ मेगावाट क्षमताको मैवा खोला जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र सहायक कम्पनीको नाममा हस्तान्तरण गर्ने निर्णय गरेको छ।
२०८३ कात्तिक १७ गते सम्पन्न साधारणसभाले शेयरधनीलाई वितरण गर्ने प्रयोजनका लागि १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश दिने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ। उक्त रकम करसहितको हो।
सभाले आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि एस. चपाई एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको छ। लेखापरीक्षण सेवाबापत उक्त फर्मलाई मूल्य अभिवृद्धि करबाहेक वार्षिक तीन लाख रुपैयाँ पारिश्रमिक उपलब्ध गराइने भएको छ।
त्यस्तै सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा पोखरा महानगरपालिका–२, कास्कीका निरञ्जन पराजुली निर्वाचित भएका छन्। उनी सर्वसाधारण शेयरधनीको प्रतिनिधिका रूपमा कम्पनीको सञ्चालक समितिमा रहनेछन्।
कम्पनीको स्वामित्वमा रहेको १२.५०४ मेगावाट क्षमताको मैवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सर्वेक्षण अनुमतिपत्र सहायक कम्पनी रिज पावर लिमिटेडको नाममा हस्तान्तरण गरिने भएको छ। अनुमतिपत्रसँग सम्बन्धित सम्पूर्ण हक, अधिकार तथा दायित्वसमेत रिज पावरलाई हस्तान्तरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।
ललितपुर महानगरपालिका–१ मा दर्ता कार्यालय रहेको रिज पावर लिमिटेड रिज लाइन इनर्जीको सहायक कम्पनी हो। उक्त कम्पनी २०८३ कात्तिक १२ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको हो।











