सानिमा मिडिल तमोरको लाभांश शेयरधनीको खातामा जम्मा

१८ कार्तिक २०८३, बुधबार ०९:४५

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्न थालेको छ। कम्पनीको ११औँ वार्षिक साधारणसभाबाट पारित निर्णयअनुसार आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट करसहित उक्त दरमा नगद लाभांश वितरण गर्न सुरु गरिएको हो।

कम्पनीको २०८३ असोज ३० गते सम्पन्न साधारणसभाले चुक्ता पुँजीको ५.२६३ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो। सोही निर्णयअनुसार असोज ३० गतेदेखि शेयरधनीहरूको हितग्राही खातामा क्रमशः लाभांश जम्मा तथा भुक्तानी गर्न थालिएको कम्पनीले जनाएको छ।

लाभांश शेयरधनीले उपलब्ध गराएको बैंक खातामा जम्मा गरिनेछ। लाभांश पठाउँदा सम्बन्धित बैंक वा वित्तीय संस्थाले कुनै शुल्क लिएमा उक्त शुल्क शेयरधनी स्वयंले व्यहोर्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ। साधारणसभा प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द भएको मिति असोज १९ गतेभन्दा अघिल्लो दिनसम्म शेयर धितो राखी कर्जा लिएका शेयरधनीले सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट अनुमति पत्र (नो अब्जेक्सन लेटर) सानिमा क्यापिटलमा बुझाउनुपर्नेछ।

असोज १९ गतेपछि कर्जा चुक्ता गरेका शेयरधनीले भने लाभांश फुकुवा गरिदिन सम्बन्धित बैंक वा वित्तीय संस्थाले दिएको सक्कल पत्र पेस गर्नुपर्नेछ। आवश्यक कागजात प्राप्त भएपछि मात्रै सम्बन्धित शेयरधनीको हितग्राही खातामा रहेको बैंक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीको शेयर रजिस्ट्रार सानिमा क्यापिटल लिमिटेडले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*