प्रमुख कार्यकारी अधिकृत खोज्दै नेरुडे मिर्मिरे, यस्तो चाहिनेछ योग्यता

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदमा एक जना नियुक्त गर्न दरखास्त आह्वान गरेको छ ।
संस्थाले प्रकाशित गरेको सूचनाअनुसार उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्य, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरेको हुनुपर्नेछ ।
उम्मेदवारले बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, सङ्गठित संस्था, विश्वविद्यालय वा त्यस्तै कार्य गर्ने अन्तर्राष्ट्रिय सङ्घसंस्थाको अधिकृत तह वा सोभन्दा माथिल्लो पदमा कम्तीमा पाँच वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत, नायब कार्यकारी अधिकृत वा व्यवस्थापकीय तहमा काम गरेको अनुभव भएकालाई विशेष प्राथमिकता दिइने संस्थाले जनाएको छ ।
त्यसैगरी लघुवित्त वित्तीय संस्थासम्बन्धी व्यावसायिक अनुभव तथा सूचना प्रविधिको प्रयोगसम्बन्धी आवश्यक जानकारी भएकालाई पनि प्राथमिकता दिइनेछ । दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ५८ वर्ष ननाघेको हुनुपर्नेछ ।
इच्छुक उम्मेदवारले आफ्नो शैक्षिक योग्यता, अनुभवसहितको व्यक्तिगत विवरण तथा नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ । साथै, लघुवित्त क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा समस्या समाधानका उपाय समेटिएको बढीमा २ हजार ५०० शब्दको आगामी कार्यदिशासम्बन्धी प्रस्तावसमेत पेस गर्नुपर्नेछ ।
विदेशी शिक्षण संस्थाबाट प्राप्त शैक्षिक योग्यताको हकमा सम्बन्धित निकायबाट समकक्षता मान्यता प्राप्त प्रमाणपत्रको प्रतिलिपि पनि बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
दरखास्त आगामी भदौ २६ गते अपराह्न ४ बजेसम्म संस्थाको कर्पोरेट कार्यालय मध्यपुर थिमि–१, लोकन्थलीमा वा संस्थाले उपलब्ध गराएको विद्युतीय माध्यमबाट पठाउन सकिनेछ ।

उम्मेदवारको शैक्षिक योग्यता, कार्य अनुभव र पेस गरेको प्रस्तावको मूल्याङ्कनका आधारमा संक्षिप्त सूची तयार गरी प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरिनेछ ।









