६ दिनको गिरावटमा ब्रेकः कारोबार भने खुम्चिदै, यी दुई कारण छ मुख्य त्रास!

१६ भाद्र २०८३, मंगलवार १५:०४

काठमाडौं । लगातार ६ दिनसम्म भारी गिरावट व्यहोरेको नेपाली शेयर बजारमा मंगलबार झिनो सुधार देखिए पनि लगानीकर्ताको मनोविज्ञानमा रहेको त्रास भने हट्न सकेको छैन । पछिल्ला केही महिनादेखि सुस्त गतिमा अघि बढिरहेको बजारमा रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीले थप दबाब सिर्जना गरेको छ । तिब्बततर्फबाट आएको अचानकको बाढीबाट ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएपछि लगानीकर्ताको जोखिम धारणा कमजोर बनेको हो । विशेषगरी रसुवा र आसपासका क्षेत्रमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको खबरले शेयर बजारमा जलविद्युत् कम्पनीप्रति लगानीकर्ताको चिन्ता बढाएको छ ।

बाढीबाट ठूलो मानवीय क्षति हुनुका साथै महत्वपूर्ण पूर्वाधारमा समेत असर परेको विवरणले आर्थिक गतिविधिमाथि पर्न सक्ने प्रभावबारे प्रश्न उठाएको छ । प्रारम्भिक विवरणअनुसार करिब एक हजार जनाको मृत्यु भएको र चार हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको बताइएको छ । विपद्को प्रत्यक्ष प्रभाव जलविद्युत् आयोजनाको विद्युत् गृह, बाँध, सुरुङ, पहुँचमार्ग, प्रसारण लाइनलगायत संरचनामा परेको छ । यसबाट विद्युत् उत्पादनमा अवरोध आउनुका साथै क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणमा ठूलो खर्च लाग्ने, आयोजना निर्माण अवधि लम्बिने र कम्पनीको आम्दानी प्रभावित हुन सक्ने जोखिम बढेको छ । यही कारण जलविद्युत् कम्पनीका शेयरमा बिक्री चाप बढ्दा बजारमा गिरावटको दबाब थप बलियो बनेको देखिन्छ ।

बाढीको प्रभाव जलविद्युत् क्षेत्रमा मात्र सीमित नभई निर्जीवन बीमा कम्पनी र म्युचुअल फण्डसम्म फैलिएको छ । जलविद्युत् आयोजना, सवारीसाधन, घर तथा अन्य सम्पत्तिमा भएको क्षतिले आगामी दिनमा बीमा दाबीको संख्या र रकम बढाउन सक्ने भएकाले निर्जीवन बीमा कम्पनीको नाफामा दबाब पर्न सक्ने आकलन गरिएको छ । दाबी भुक्तानी बढ्ने सम्भावनाले बीमा कम्पनीका शेयरमा समेत बिक्री चाप सिर्जना भएको छ ।

सिआईबिले शेयर बजारमा १।२ हजार कित्ता शेयर किन्दा समेत लगानीकर्तामाथि छानबिन गर्ने थालेको छ । सोहि कारण पनि लगानीकर्तामा त्रासको वातावरण बनेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२४ अकंले बढेर २५२२.६६ बिन्दुमा कायम भएको छ । आज ३४१ कम्पनीको ७६ लाख २ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८९ करोड ८५ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचकमा हरियाली देखिएको छ । बाढी आएदेखि ओरालो लागि रहेको हाइड्रो र निर्जीवन बीमा कम्पनीको शेयर सर्वाधिक बढेको हो ।

मंगलबार १८१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८४ कम्पनीको घटेको छ । आज १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*