भोटेकोशी बाढीपछि सामाजिक सञ्जालमा फैलियो अफवाह, १७३ पोस्टमाथि कारबाही

काठमाडौं । नेपाल प्रहरीले भोटेकोशीको बाढीलाई लक्षित गरी सामाजिक सञ्जालमा फैलाइएका १ सय ७३ वटा भ्रामक सूचना तथा अफवाहमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । समाजमा त्रास सिर्जना गर्ने, विभाजन ल्याउने तथा उत्तेजक अभिव्यक्ति दिने खालका सामग्रीमाथि प्रहरीले निगरानी बढाएको हो ।
प्रहरीका अनुसार फेसबुकका १ सय ६८, टिकटकका ४ र इन्स्टाग्रामको १ वटा भ्रामक पोष्ट पहिचान गरी कारबाहीका लागि अघि बढाइएको छ । तीमध्ये फेसबुकका विभिन्न ७९ वटा पोष्ट हटाइएको छ भने टिकटकबाट ४ वटा सामग्रीसमेत हटाइएको प्रहरीले जनाएको छ ।
गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो धनजनको क्षति भएको थियो । बाढीपछि पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत विभिन्न किसिमका भ्रामक सूचना, अफवाह तथा उत्तेजक सामग्री फैलिन थालेपछि प्रहरीले त्यस्ता गतिविधिमाथि निगरानी र कारबाही तीव्र बनाएको हो ।









