नेपालका ६५ प्रतिशत बालबालिकाको रगतमा लेडको मात्रा उच्च, जनस्वास्थ्यमा गम्भीर जोखिम

धनगढी। नेपालमा लेड (सिसा) को जोखिम जनस्वास्थ्यका लागि गम्भीर चुनौतीका रूपमा देखिएको छ। सन् २०१५ मा गरिएको एक अध्ययनअनुसार नेपालका करिब ६५ प्रतिशत बालबालिकाको रगतमा लेडको मात्रा उच्च पाइएको थियो। यसले बालबालिकाको स्वास्थ्य र विकासमा पर्न सक्ने असरबारे चिन्ता बढाएको छ।
बजारमा उपलब्ध रङमा समेत लेडको मात्रा राष्ट्रिय मापदण्डभन्दा बढी पाइएको छ। रङका ६२ नमुनामध्ये ३० वटा अर्थात् ४८ प्रतिशतमा प्रतिलाखमा २० भाग (२० पिपिएम) को राष्ट्रिय मापदण्डभन्दा बढी लेड भेटिएको थियो। यसले बजारमा उपलब्ध रङको गुणस्तर र त्यसको नियमित अनुगमनमा थप ध्यान दिनुपर्ने देखाएको छ।
सन् २०२४ मा गरिएको अनुगमनले पनि रङमा लेडसम्बन्धी राष्ट्रिय मापदण्डको अनुपालन दर ५५ प्रतिशत मात्रै रहेको देखाएको छ। अझ मधेश प्रदेशमा अनुगमनका क्रममा केही रङमा लेडको मात्रा १० हजार पिपिएमसम्म पुगेको पाइएको थियो। यो राष्ट्रिय मापदण्डभन्दा निकै बढी हो।
लेडको सम्पर्कले विशेषगरी बालबालिकाको मस्तिष्कको विकास, सिकाइ क्षमता तथा समग्र स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ। लेडको जोखिमबाट बच्न यसको स्रोत पहिचान, सुरक्षित उत्पादनको प्रयोग, प्रभावकारी नियमन र जनचेतना आवश्यक हुन्छ।
यही जोखिमबारे जनचेतना फैलाउने उद्देश्यले अक्टोबर १८ देखि २४ सम्म अन्तर्राष्ट्रिय लेड विषाक्तता रोकथाम सचेतना सप्ताह २०२६ मनाइँदै छ। यस अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले लेडको जोखिम पहिचान, त्यसको सम्पर्कबाट बच्ने उपाय तथा रोकथामका प्रभावकारी कदमबारे सचेतना फैलाउन जोड दिएको छ।











