गृह मन्त्रालयकै फेसबुक पोस्टमा गायब भयो ‘चुच्चे नक्सा’ !

काठमाडौं । गृह मन्त्रालयद्वारा सञ्चालित आधिकारिक फेसबुक पेजमा राखिएको जेनजी शहीद दिवससम्बन्धी शुभकामना सन्देशमा नेपालको ‘चुच्चे नक्सा’ गायब भएको पाइएको छ । मन्त्रालयले जेनजी शहीद दिवसको अवसरमा शहीदहरूको बलिदानको स्मरण र सम्मान गर्दै मंगलबार फेसबुकमा सार्वजनिक गरेको ग्राफिक्समा नेपालको नक्सा प्रयोग गरिएको छ । तर, उक्त नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको आधिकारिक नक्साको भूभाग देखिँदैन ।
गृह मन्त्रालयको आधिकारिक वेबसाइटमै मन्त्रालयको फेसबुक पेजका रूपमा हेलो गृह मन्त्रालय – Ministry of Home Affairs – Nepal लाई उल्लेख गरिएको छ । सोही आधिकारिक सामाजिक सञ्जाल पेजमा भदौ २३ अर्थात् जेनजी शहीद दिवसका अवसरमा शुभकामना सन्देशसहितको तस्बिर सार्वजनिक गरिएको हो ।
मन्त्रालयले ‘जेनजी शहीद दिवस–बलिदानको स्मरण, शहीदप्रति सम्मान’ भन्ने भावसहित तयार पारेको उक्त तस्बिर मंगलबार दिउँसो करिब १ः५० बजे पोस्ट गरेको देखिन्छ । तस्बिरको पृष्ठभूमिमा नेपालको नक्सालाई मधुरो स्वरूपमा राखिएको छ । तर, सामान्य रूपमा अहिले सरकारी कार्यालय, निकाय तथा सार्वजनिक प्रयोजनमा प्रयोग हुँदै आएको नेपालको संशोधित अर्थात् ‘चुच्चे नक्सा’सँग उक्त आकृति मेल खाँदैन । नक्साको उत्तर–पश्चिमी भागमा थपिएको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको भूभाग देखिँदैन ।

नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको घटना नेपालको पछिल्लो राजनीतिक इतिहासकै महत्वपूर्ण विषय हो । तत्कालिन केपी शर्मा ओलि नेतृत्वको मन्त्रिपरिषद्ले २०७७ जेठ ५ गते नयाँ नक्सा स्वीकृत गरेको थियो भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७७ जेठ ७ गते उक्त नक्सा सार्वजनिक गरेको थियो । संघीय संसदमा उपलब्ध सरकारी अभिलेखमा समेत काली (महाकाली) पूर्व लिम्पियाधुरासम्मको भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषद्को निर्णयअनुसार स्वीकृत र सार्वजनिक भएको उल्लेख छ ।
नेपालको नयाँ नक्सा सार्वजनिक भएको करिब छ वर्षपछि पनि सरकारी प्रचार सामग्रीमै पुरानो आकृति देखिनु आफैंमा असामान्य देखिन्छ ।









