आकाशदेखि सुरुङसम्म सेना, उद्धार अभियानमा नौ हजारभन्दा बढी परिचालन

२३ भाद्र २०८३, मंगलवार १६:०६

काठमाडौँ ।  नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। सेनाले हवाई साधनमार्फत आज भदौ २३ गते दिउँसो ३ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट २० जनाको उद्धार गरेको छ। हालसम्म हवाई साधनमार्फत स्वदेशी ३ हजार ७ सय ५७ र विदेशी २ सय ८३ गरी ४ हजार ४० जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धारका लागि खटिएको टोली आयोजनाका प्रतिनिधिसहित विद्युत् गृह र नियन्त्रण केन्द्रसम्म पुगेर खोजी कार्यमा जुटेको छ। रसुवाको भोटेकोशी जलविद्युत् आयोजनाअन्तर्गत रोङ्गास्थित केबल सुरुङमा संयुक्त टोलीले मानवरहित विमानको प्रयोग गरी खोजी गर्दा एउटा शव फेला पारेको छ।

लाङटाङ जलविद्युत् आयोजनामा पनि संयुक्त उद्धार टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। चिलिमे जलविद्युत् आयोजनामा विदेशीसहितको संयुक्त टोलीले ६ मिटर लम्बाइका चारवटा ठूला पाइप प्रयोग गरी हिँड्न मिल्ने बाटो तयार पारेको छ। स्याफ्रुबेंसीदेखि चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म ठूला उपकरण लैजान सडकमा रहेको ठूलो ढुंगा विस्फोट गराएर हटाउने कार्य गरिएको छ। ठूलो चट्टानसम्म पुग्न अझै ९५ मिटर दूरी बाँकी रहेको सेनाले जनाएको छ।

सुरुङभित्र थुप्रिएको भग्नावशेष हटाउन तान्ने यन्त्र र डोलाको प्रयोग भइरहेको छ। संयुक्त टोली सुरुङभित्र १ सय १५ मिटर सम्म प्रवेश गरी खोजी कार्यमा जुटेको छ। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा विदेशीसहितको संयुक्त टोली मुख्य प्रवेश सुरुङभित्र करिब ४ सय मिटर सम्म प्रवेश गरी खोजी गरिरहेको छ।

त्रिशूली–३ ए जलविद्युत् आयोजनाको विद्युत् गृह तथा सुरुङमा नेपाली सेनाका ३४ जना, सशस्त्र प्रहरी बलका चार जना तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ। त्रिशूली–३ बी आयोजनामा नेपाली सेनाका १ सय १ जना र आयोजनाका प्रतिनिधिसहितको टोलीले तीनवटा उत्खनन यन्त्र प्रयोग गरी करिब २३ फिट गहिराइसम्म खनेर खोजी गरेको छ। आयोजनाको कार्यालय तथा आवास गृह क्षेत्रमा खोजी गर्दा हालसम्म कोही फेला नपरेको र खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।

नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ टोलीका ५५ जना परिचालन गरी पुल निर्माण कार्य तीव्र पारिएको छ। त्यस्तै, ढुंगे बुद्ध मन्दिरको तल्लो भागदेखि त्रिशूली बजार जोड्ने करिब २ सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि नेपाली सेनाका इन्जिनियरले आवश्यक परामर्शसहित काम अघि बढाएका छन्।

प्रभावित क्षेत्रमा नेपाली सेनाले जमिनबाट समेत खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। मैलुङदेखि स्याफ्रुबेंसीसम्म पैदल गस्ती गरी खोज तथा उद्धार भइरहेको छ। सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा घुम्ती स्वास्थ्य टोलीमार्फत आज ५० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजारभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। सेनाले समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने र आपत्कालीन उपचारलगायतका कार्य गरिरहेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*