बाढीले सञ्चार काटेपछि डिशहोमको पहल, रसुवामा निःशुल्क स्याटेलाइट इन्टरनेट

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा जिल्लाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा सञ्चार तथा सूचना आदान–प्रदानलाई निरन्तरता दिन डिशहोमले विशेष पहल अघि बढाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा डिशहोमलेयुटेलस्याट सँगको सहकार्यमा बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा निःशुल्क वनवेब स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । उक्त सेवा भदौ २० देखि प्राथमिकताका आधारमा उपलब्ध गराउन थालिएको छ ।
प्राकृतिक विपद्का समयमा भरपर्दो सञ्चार सेवा उद्धार, राहत तथा समन्वयका लागि अत्यावश्यक हुने भएकाले यस पहलअन्तर्गत हाल प्रभावित क्षेत्रमा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्वपूर्ण समन्वय केन्द्रहरूमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको छ ।
युटेलस्याट वनवेबको लो–अर्थ अर्बिट स्याटेलाइट प्रविधि मार्फत उपलब्ध गराइएको यो वैकल्पिक कनेक्टिभिटीले बाढीका कारण क्षतिग्रस्त स्थलीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा काम गर्नेछ । यसबाट सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन, उद्धारकर्मी तथा मानवीय सहायता एवं राहत कार्यमा संलग्न विभिन्न सरोकारवालाबीच सूचना आदान–प्रदान, वास्तविक समयको समन्वय तथा आवश्यक डेटा प्रवाहलाई निरन्तरता दिन सहयोग पुग्नेछ ।
प्राकृतिक विपद्का कारण परम्परागत दूरसञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा भरपर्दो वैकल्पिक सञ्चार माध्यम उपलब्ध गराउनु हाम्रो प्रमुख प्राथमिकता हो । यस्तो कठिन परिस्थितिमा सरकारी निकाय, सुरक्षा तथा उद्धारकर्मी र प्रभावित समुदायलाई आवश्यक सञ्चार सुविधा उपलब्ध गराउन डिशहोम प्रतिबद्ध छ । विपद् व्यवस्थापन तथा पुनःस्थापनाको यस महत्वपूर्ण समयमा आवश्यकता अनुसार आफ्नो सेवा र स्रोत परिचालन गर्दै जाने कम्पनीले जनाएको छ ।
डिशहोमले नेपाल दूरसञ्चार प्राधिकरण, सरकारी निकाय, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँग निरन्तर समन्वय गर्दै प्रभावित क्षेत्रमा कनेक्टिभिटीको आवश्यकता तथा प्राथमिकताको मूल्याङ्कन गर्नेछ ।
सञ्चार तथा इन्टरनेट पूर्वाधार पूर्ण रूपमा मर्मत तथा पुनःस्थापना नभएसम्म आवश्यकताका आधारमा उच्च प्राथमिकतामा रहेका थप स्थानहरूमा स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्दै जाने प्रतिबद्धता डिशहोमले जनाएको छ ।
यस पहलमार्फत डिशहोम र युटेलस्याटले विपद्का समयमा प्रविधिको प्रभावकारी उपयोग गर्दै आपत्कालीन सञ्चार, उद्धार तथा राहत कार्य र समुदायको आपत्कालीन प्रतिरोधात्मक क्षमता सुदृढ गर्न योगदान पुर्याउने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् ।









