ग्यास अभाव चर्किएपछि जुनसुकै कम्पनीको सिलिन्डरबाट ग्यास दिन निर्देशन

२४ भाद्र २०८३, बुधबार ११:१९

काठमाडौं । बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति असहज बनेको छ। आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छन्।

मन्त्री यादवले काठमाडौं उपत्यकाभित्र जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साटेर ग्यास उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएकी हुन्।

एउटा कम्पनीको सिलिन्डर उपलब्ध नभएको अवस्थामा उपभोक्ताले अर्को कम्पनीको सिलिन्डरसँग समान मूल्यमा साटासाट (इन्टरचेञ्ज) गरी ग्यास लिन सक्ने व्यवस्था तत्काल मिलाउन मन्त्रीले निर्देशन दिएको उनको सचिवालयले बुधबार जनाएको छ।

यो व्यवस्था लागू भएपछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको ब्रान्डको सिलिन्डर नपाएको अवस्थामा अन्य कम्पनीको सिलिन्डरमार्फत पनि ग्यास प्राप्त गर्न सक्नेछन्। आपूर्ति अभावका कारण उपभोक्तालाई परेको समस्यालाई तत्काल सम्बोधन गर्दै राहत प्रदान गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न निर्देशन दिइएको सचिवालयले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*