राष्ट्र बैंकको रिपोर्टले खोल्यो फाइनान्सको दर्दनाक अवस्थाः बढ्यो कर्जा जोखिम, जानकीदेखि पोखरासम्म संकट

२५ भाद्र २०८३, बिहीबार १२:५४

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा कर्जा असुलीको समस्या गहिरिँदै जाँदा त्यसको प्रत्यक्ष असर फाइनान्स कम्पनीहरूमा परेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले अधिकांश फाइनान्स कम्पनीको कर्जा गुणस्तर कमजोर बनेको देखाएको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ फाइनान्स कम्पनीको औसत खराब कर्जा अनुपात ७.६६ प्रतिशत पुगेको छ। यीमध्ये नौवटा संस्थाको खराब कर्जा ५ प्रतिशतभन्दा माथि छ। अझ छवटा कम्पनीमा यस्तो अनुपात १० प्रतिशत नाघेको छ।

अपरिष्कृत विवरण भएकाले अन्तिम लेखापरीक्षणपछि केही अंकमा फेरबदल हुन सक्ने सम्भावना छ। तर अहिले देखिएको तस्वीरलाई सामान्य उतारचढावका रूपमा मात्र लिन सकिने अवस्था छैन। कर्जा बिग्रिँदा त्यसको प्रभाव क्रमशः ब्याज आम्दानी, नाफा, जगेडा, पूँजी पर्याप्तता र अन्ततः सेयरधनीको प्रतिफलसम्म पुग्ने भएकाले खराब कर्जाको बढ्दो दर फाइनान्स क्षेत्रका लागि गम्भीर वित्तीय संकेत बनेको छ।

सबैभन्दा नाजुक अवस्था जानकी फाइनान्समा देखिएको छ। कम्पनीले प्रवाह गरेको कर्जामध्ये ६१.५५ प्रतिशत खराब वर्गमा पुगेको तथ्यांक छ। सामान्य अर्थमा बुझ्दा कम्पनीको ऋण लगानीबाट आउने ठूलो हिस्सा समयमा फिर्ता हुने अवस्थामा छैन। कर्जा असुली कमजोर हुँदा कम्पनीले सम्भावित क्षतिको सामना गर्न थप रकम छुट्याउनुपर्ने हुन्छ।

जानकी फाइनान्सको वित्तीय अवस्था खराब कर्जाको उच्च दरमै सीमित छैन। कम्पनीको प्राथमिक पूँजी र कुल पूँजीकोष दुवै ऋणात्मक अवस्थामा पुगेका छन्। दुवैमा २५ करोड २७ लाख रुपैयाँभन्दा बढीको नकारात्मक अवस्था देखिएको छ। प्राथमिक तथा कुल पूँजी पर्याप्तता अनुपात पनि ऋणात्मक ६.१४ प्रतिशतमा झरेको छ। ६९ करोड रुपैयाँ चुक्तापूँजी भएको संस्थाको पूँजी आधार नै नकारात्मक बन्नु सञ्चित क्षतिले कम्पनीको वित्तीय संरचनामा गहिरो असर गरिसकेको प्रमाण हो।

त्यसमाथि जानकी फाइनान्सको कर्जा र निक्षेपबीचको अनुपात ९८.५७ प्रतिशत पुगेको छ। नियामकीय सीमाअनुसार यस्तो अनुपात ९० प्रतिशतभन्दा माथि जान नहुने व्यवस्था छ। एकातिर ऋणको ठूलो हिस्सा समस्याग्रस्त बन्ने, अर्कोतिर पूँजी कमजोर हुने र स्रोत परिचालनसमेत दबाबमा पर्ने अवस्थाले कम्पनी एकैपटक धेरै मोर्चामा जोखिममा रहेको देखिन्छ।

खराब कर्जाको दृष्टिले जानकीपछि पोखरा फाइनान्सको अवस्था पनि चिन्ताजनक छ। कम्पनीको गैरनिष्पादित कर्जा २०.८४ प्रतिशत पुगेको छ। अर्थात् संस्थाले लगानी गरेको प्रत्येक पाँच रुपैयाँमध्ये करिब एक रुपैयाँभन्दा बढी ऋण समस्यामा परेको अवस्था हो। चुक्तापूँजी एक अर्ब ९० करोड रुपैयाँ रहे पनि प्राथमिक पूँजी ४८ करोड १३ लाख रुपैयाँमा सीमित छ। प्राथमिक पूँजी पर्याप्तता अनुपात ७.१४ प्रतिशत र कुल पूँजी पर्याप्तता अनुपात १२.७७ प्रतिशत रहेको छ।

पोखरा फाइनान्सले आगामी दिनमा ऋण उठाउने क्षमता सुधार्न नसके थप रकम नोक्सानी व्यवस्थामा राख्नुपर्ने सम्भावना रहन्छ। त्यसको सीधा असर कम्पनीको मुनाफामा पर्नेछ। नाफा घटेपछि वितरण गर्न मिल्ने रकम कम हुन्छ र त्यसको असर लाभांश क्षमतामा देखिन्छ। अझ खराब कर्जा निरन्तर बढिरहे पूँजी पर्याप्ततासम्बन्धी सूचकमा समेत दबाब बढ्न सक्छ।

फाइनान्स कम्पनीहरूको सूची हेर्दा नेपाल फाइनान्स, बेस्ट फाइनान्स, गोर्खाज फाइनान्स र सेन्ट्रल फाइनान्समा पनि जोखिमको स्तर उच्च देखिन्छ। नेपाल फाइनान्सको खराब कर्जा १३.८३ प्रतिशत, बेस्ट फाइनान्सको १३.६९ प्रतिशत र गोर्खाज फाइनान्सको १३.३२ प्रतिशत पुगेको छ। सेन्ट्रल फाइनान्समा पनि यस्तो कर्जा १०.४० प्रतिशत रहेको छ।

राष्ट्र बैंकको विवरणअनुसार गुडविल फाइनान्सको खराब कर्जा ६.२७ प्रतिशत, रिलायन्स फाइनान्सको ६.५५ प्रतिशत र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ५.२० प्रतिशत छ। यी संस्थासमेत पाँच प्रतिशतभन्दा माथिको खराब कर्जा भएका कम्पनीको समूहमा छन्।

यद्यपि सबै कम्पनीको अवस्था उस्तै छैन। आईसीएफसी फाइनान्सको खराब कर्जा १.५५ प्रतिशतमा सीमित छ। प्रोग्रेसिभ फाइनान्सको ३.०१ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ३.३० प्रतिशत, मञ्जुश्री फाइनान्सको ३.४२ प्रतिशत र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको ३.७४ प्रतिशत छ।

सञ्चालनमा रहेका १४ कम्पनीले असार मसान्तसम्म एक खर्ब ४२ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। उनीहरूले एक खर्ब सात अर्ब ३६ करोड रुपैयाँ कर्जा परिचालन गरेका छन्। समग्र कर्जा–निक्षेप अनुपात ७५.२१ प्रतिशत रहेको छ। त्यसैगरी औसत खुद तरलता ३४.७२ प्रतिशत छ, जुन नियामकीय न्यूनतम सीमाभन्दा माथि हो।

१४ कम्पनीको औसत प्राथमिक पूँजी पर्याप्तता अनुपात ११.६० प्रतिशत र कुल पूँजी पर्याप्तता अनुपात १४.३६ प्रतिशत रहेको छ। औसत सूचक हेर्दा अवस्था नियामकीय मापदण्डभित्र देखिन सक्छ। तर औसतले प्रत्येक कम्पनीको वास्तविक अवस्था भने देखाउँदैन। एउटा कम्पनीको अत्यन्त कमजोर अवस्था अर्को संस्थाको तुलनात्मक रूपमा राम्रो प्रदर्शनले ढाकिन सक्छ। जानकी फाइनान्सको ऋणात्मक पूँजी र केही संस्थाको दोहोरो अंकको खराब कर्जाले यही अन्तर स्पष्ट पार्छ।

समस्याग्रस्त संस्थाको सूचीमा रहेका नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स तथा क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको अवस्था अझ गम्भीर देखिन्छ। दुवै संस्थाको खराब कर्जा अनुपात शतप्रतिशत रहेको छ। नेपाल सेयर मार्केट्स एन्ड फाइनान्समा करिब २१ करोड ९१ लाख रुपैयाँ निक्षेप रहँदा कर्जा दुई अर्ब १५ करोड रुपैयाँभन्दा बढी छ। क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको निक्षेप दुई करोड ७२ लाख रुपैयाँ र कर्जा ६६ करोड ३५ लाख रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*