अन्योलले घटेको शेयर बजारमा आज चमक: कारोबार साढे ७ अर्ब, समात्ला अब लय ?

काठमाडौं । नयाँ निर्देशनअनुसार कुनै व्यक्ति वा संस्थाले एकैपटक वा पटक–पटक गरी एक दिनमा १० लाख रुपैयाँ वा सोभन्दा बढीको धितोपत्र कारोबार गरेमा सम्बन्धित सूचक संस्थाले कारोबार भएको मितिले १५ दिनभित्र वित्तीय जानकारी इकाईले तोकेको प्रणालीमार्फत विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। उक्त व्यवस्थालाई लिएर बजारमा फैलिएको हल्लाका कारण पछिल्लो समय दबाबमा परेको शेयर बजारमा आज भने उच्च सुधार देखिएको छ।
नियामक निकायका नीतिहरूबारे लगानीकर्तामा देखिएको अन्योल क्रमशः हट्दै जाँदा बजारले पुनः गति समात्ने आशा बढेको छ। नियामकका नीतिहरूलाई सकारात्मक रूपमा बुझ्दै लगानीकर्ताले बजारको वास्तविक अवस्था र सम्भावनालाई आत्मसात् गर्न सकेमा आगामी दिनमा शेयर बजारले नयाँ लय समात्ने अपेक्षा गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ३३.२९ अंकले बढेर २ हजार ६६४ बिन्दुमा कायम भएको छ। यसदिन ३४७ कम्पनीको १ करोड ९३ लाख कित्ता शेयर किनबेच हुँदा कुल ७ अर्ब ४५ करोड रुपैयाँबराबरकोकारोबार भएको हो ।
सुधार देखिए पछि अधिकांश उपसूचकमा सुधार देखिएको छ । बुधबार १ वटा उपसूचक घटेका छन् भने १२ वटामासुधार देखिएको छ। आज हाइड्रोपावर समूहको शेयर मूल्य सर्वाधिक बढेको छ। यस्तै, फाइनान्स र होटलसमूहमा पनि सुधार देखिएको छ।
आज २४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३५ कम्पनीको शेयर मूल्य घटेको छ।











