जीवन बीमाको बजारमा सावधिक बीमाकै वर्चस्व: व्यवसायको ४९% हिस्सा, अन्यको कति?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमै जीवन बीमा कम्पनीहरूले २६ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको बीमा व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले साउन महिनामा विभिन्न प्रकारका बीमालेखमार्फत कुल २६ अर्ब ६२ करोड २० लाख २९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन्। नेपाल बीमा प्राधिकरणले जीवन बीमा व्यवसायको प्रदेशगत तथा बीमालेखको प्रकारअनुसारको विवरण सार्वजनिक गरेको छ।
प्राधिकरणको तथ्यांकअनुसार कुल बीमाशुल्कमध्ये सबैभन्दा ठूलो हिस्सा सावधिक जीवन बीमाबाट आएको छ। साउनमा सावधिक जीवन बीमाबाट मात्रै १३ अर्ब १९ करोड ३४ लाख १४ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ। यो कुल बीमाशुल्कको करिब ४९.५६ प्रतिशत हो।
त्यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमाबाट ४ अर्ब ८४ करोड ४९ लाख ६१ हजार रुपैयाँ, रूपान्तरित सावधिक जीवन बीमाबाट २ अर्ब ७९ करोड ४८ लाख ३५ हजार रुपैयाँ र बालबच्चासम्बन्धी सावधिक जीवन बीमाबाट ३ अर्ब ५५ करोड ६ लाख ६४ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
यसैगरी, वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट २९ करोड ४९ लाख ६९ हजार रुपैयाँ, आजीवन जीवन बीमाबाट १ अर्ब ५२ करोड ३० लाख ९७ हजार रुपैयाँ तथा एकल बीमाशुल्क जीवन बीमाबाट ७१ करोड ५२ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको तथ्यांकमा उल्लेख छ।
म्यादी जीवन बीमातर्फ १२ करोड ४० लाख ४२ हजार रुपैयाँ, लघु जीवन बीमातर्फ २५ करोड ३४ लाख २५ हजार रुपैयाँ र अन्य जीवन बीमातर्फ ३२ करोड ३३ लाख ५३ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ।

प्रदेशगत रूपमा बागमती अगाडि
प्रदेशगत तथ्यांक हेर्दा साउनमा जीवन बीमा व्यवसायमा बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ। बागमती प्रदेशमा विभिन्न प्रकारका जीवन बीमालेखमार्फत कुल १३ अर्ब ११ करोड ३७ लाख ३ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको छ।
त्यसपछि लुम्बिनी प्रदेशमा ३ अर्ब ६४ करोड २० लाख ५ हजार रुपैयाँ, कोशी प्रदेशमा ३ अर्ब ८ करोड ३७ लाख २ हजार रुपैयाँ, गण्डकी प्रदेशमा २ अर्ब ५३ करोड ८१ लाख ३१ हजार रुपैयाँ र मधेश प्रदेशमा २ अर्ब १२ करोड ३२ लाख ८९ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशबाट १ अर्ब ३७ करोड ५८ लाख ३९ हजार रुपैयाँ तथा कर्णाली प्रदेशबाट ७४ करोड ५३ लाख ५९ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको तथ्यांकले देखाएको छ।









