५८ लाखको ‘आयोन वाई’ गुडिरहेको अवस्थामा बन्यो खरानी, गुणस्तरमाथि उठ्यो गम्भीर प्रश्न

२९ भाद्र २०८३, सोमबार १४:१९

काठमाडौँ ।  गत शुक्रबार नेपाली अटो बजारमा करिब ५८ लाख रुपैयाँ मूल्य पर्ने एउटा विद्युतीय कार केही मिनेटमै आगोको भीषण लप्कामा परिणत भयो । सडकमा सामान्य गतिमा गुडिरहेको गाडी अचानक धुवाँ र आगोले घेरियो । चालकले आफूलाई सुरक्षित रूपमा बाहिर निकाल्न नपाउँदै आगोले गाडीलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लियो । केही क्षणमै लाखौँ रुपैयाँ मूल्यको कार जलेर ध्वस्त मात्र भएन, त्यसमा सवार चालकको ज्यानसमेत गयो ।

चितवनको भरतपुरमा भएको यो घटनाले नेपालमा तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय सवारीको सुरक्षालाई फेरि एकपटक गम्भीर बहसको केन्द्रमा ल्याएको छ । चीनको ग्वाङझाउ अटोमोबाइल ग्रुपले उत्पादन गरेको र नेपालमा चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्समार्फत बिक्री हुँदै आएको जीएसी आयोन वाई विद्युतीय कारमा भएको आगलागीपछि ईभीको ब्याट्री, विद्युतीय प्रणाली, स्वचालित सुविधा र आपत्कालीन अवस्थामा यात्रुको सुरक्षाका विषयमा प्रश्न उठेका छन् ।

भदौ २६ गते बिहान करिब ६ बजेको समय । भरतपुर महानगरपालिका–९ अन्तर्गत बसन्तचोक नजिकै पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा एउटा विद्युतीय कार पश्चिमतर्फ अघि बढिरहेको थियो । बा. प्रदेश–०१–०३० च ५५७९ नम्बरको उक्त गाडी केहीबेरअघिसम्म सामान्य अवस्थामै थियो । तर सडकमा गुडिरहेका बेला अचानक गाडीबाट आगो निस्कियो । सुरुमा देखिएको आगो केही क्षणमै नियन्त्रण गर्न नसकिने गरी फैलियो ।

स्थानीयका अनुसार आगलागीपछि गाडी रोक्ने र सावधानी अपनाउने प्रयास भए पनि आगो नियन्त्रणबाहिर गइसकेको थियो । गाडी डिभाइडरतर्फ ठोक्किएपछि पनि चालक बाहिर निस्कन नसकेको बताइएको छ । उद्धारका लागि सुरक्षाकर्मी तथा दमकल घटनास्थल पुगे पनि आगोको तीव्रताका कारण तत्काल उद्धार सम्भव भएन । आगो निभाउँदासम्म गाडी पूर्ण रूपमा क्षतिग्रस्त भइसकेको थियो ।

घटनाले जीएसी आयोन वाईको प्राविधिक गुणस्तर र सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ । चीनको ग्वाङझाउ अटोमोबाइल ग्रुपले उत्पादन गरेको यो विद्युतीय कार नेपाली बजारमा पनि उल्लेख्य रूपमा बिक्री हुँदै आएको मोडल हो । सामान्य अवस्थामा सञ्चालन भइरहेको गाडी सडकमै अचानक आगोको चपेटामा पर्नु र छोटो समयमै पूर्ण रूपमा जलेर नष्ट हुनु गाडीको प्राविधिक सुरक्षाबारे प्रश्न उठाउने पर्याप्त कारण बनेको छ ।

प्रारम्भिक अनुसन्धानबाट आगलागी गाडीको प्राविधिक कमजोरीसँग सम्बन्धित रहेको देखिएको बताइएको छ । यद्यपि आगो सुरु भएको वास्तविक स्थान र त्यसको ठोस कारणबारे विस्तृत प्राविधिक परीक्षण भइरहेको छ । ब्याट्री प्याक, उच्च भोल्टेज प्रणाली, वायरिङ, कनेक्टर, फ्युज तथा अन्य विद्युतीय उपकरणमध्ये कुन भागबाट आगो सुरु भयो भन्ने विषय परीक्षण भइरहेको हो ।

तर यो घटनामा सबैभन्दा गम्भीर प्रश्न गाडीको गुणस्तर र यात्रुको सुरक्षासँग जोडिएको छ । विद्युतीय सवारीमा आगलागी हुनु आफैंमा असामान्य र संवेदनशील घटना हो । अझ सडकमा सामान्य गतिमा चलिरहेको अवस्थामा आगो लाग्नु, आगो केही क्षणमै फैलिनु र चालकले गाडीबाट बाहिर निस्कन नसक्नुले गाडीको सुरक्षा प्रणाली कति प्रभावकारी थियो भन्ने प्रश्न जन्माएको छ ।

विद्युतीय गाडीमा उच्च क्षमताको लिथियम–आयन ब्याट्री प्रयोग हुन्छ । ब्याट्रीका सेलमा असामान्य तापक्रम बढेमा ‘थर्मल रनअवे’ भनिने अवस्था सिर्जना हुन सक्छ । यस्तो अवस्थामा एउटा सेलबाट सुरु भएको तापक्रमको समस्या अन्य सेलमा फैलिन सक्छ र आगो नियन्त्रण गर्न कठिन हुन सक्छ । तर हरेक विद्युतीय गाडीमा हुने आगलागीको कारण ब्याट्री नै हो भन्ने निष्कर्ष निकाल्न मिल्दैन । उच्च भोल्टेज प्रणाली, वायरिङ, कनेक्टर, पावर इलेक्ट्रोनिक्स वा अन्य विद्युतीय उपकरणमा आएको खराबीबाट पनि आगलागी हुने गरेको विज्ञहरु बताउछन् ।

भरतपुरको घटनामा भने गाडीको अवशेष र प्रारम्भिक अनुसन्धानले प्राविधिक कमजोरीतर्फ प्रश्न उठाएको छ । आगलागीको समयमा यात्रुले केही सेकेन्डभित्र गाडीबाट बाहिर निस्कन सक्ने व्यवस्था हुनु अत्यन्त महत्वपूर्ण हुन्छ। सामान्य अवस्थामा विद्युतीय वा इलेक्ट्रोनिक प्रणालीबाट सञ्चालन हुने गाडीमा आपत्कालीन अवस्थामा ढोका खोल्ने वैकल्पिक व्यवस्था कसरी काम गर्छ भन्ने विषय पनि सुरक्षाको महत्वपूर्ण हिस्सा हो । चालक गाडीभित्रै फसेर ज्यान गुमाएको घटनाले आयोन वाईको आपत्कालीन निकास प्रणालीमाथि समेत प्रश्न उठाएको छ ।

नेपालमा विद्युतीय सवारीको बजार पछिल्ला वर्षमा तीव्र रूपमा विस्तार भइरहेको छ । सडकमा ईभीको संख्या बढेसँगै त्यस्ता सवारीमा हुने आगलागी र प्राविधिक समस्याबारे पनि चर्चा बढेको छ । तर नेपालमा ईभीमा भएका आगलागीका घटनाको वैज्ञानिक र व्यवस्थित अभिलेख राख्ने प्रणाली कमजोर देखिन्छ । कुन गाडीमा आगो किन लाग्यो, ब्याट्रीका कारण भयो कि अन्य विद्युतीय प्रणालीका कारण, दुर्घटनापछि आगलागी भयो कि गाडीको प्राविधिक कमजोरीका कारण भयो भन्ने विषयमा पर्याप्त तथ्य सार्वजनिक हुने गरेको छैन ।

भरतपुरको घटनामा पनि जलेको गाडीको प्राविधिक परीक्षणबाट धेरै प्रश्नको उत्तर खोज्नुपर्ने अनुसन्धानमा आबद्ध एक सदस्यले बीमापोष्टलाई बताए । उनले भने, ‘ब्याट्री प्याकमा भएको क्षति, सेलको अवस्था, ब्याट्री म्यानेजमेन्ट सिस्टमको विवरण, उच्च भोल्टेज तार तथा कनेक्टरको अवस्था र गाडीको अन्य विद्युतीय प्रणालीको परीक्षण आवश्यक हुन्छ । आगलागी हुनुअघि गाडीमा कुनै चेतावनी संकेत देखिएको थियो कि थिएन, गाडीको नियमित मर्मत भएको थियो कि थिएन र पछिल्लो समय गाडीमा कुनै प्राविधिक समस्या देखिएको थियो कि थिएन भन्ने विवरण पनि अनुसन्धानको महत्वपूर्ण हिस्सा बन्न सक्छ ।’

सरकारले विशेष नियमन गरेर मात्रै ईभी सवारी साधन नेपाल आयात गर्ने दिनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च सचिव जय पौडेल बताउँछन् । ‘ईभी गाडीका नाममा उपभोक्तमाथि ठुलो ठगी भएको छ । उपभोक्तालाई विभिन्न फिचरको आकर्षण थपेर भ्रम पारिरहेको अवस्था छ । सरकारसँग पनि ईभीको गुणस्तर जाँचका लागि कुनै सयन्त्र छैन । जस कारण ईभी गाडीको बजारमा आगलागी भइरहेको छ’ उनले भने, ‘ब्यवस्थापन नगरी यस छाडा छोड्नु हुँदैन । नियमन बलियो बनाउनुपर्छ । प्राविधिक परिक्षणमा जोड दिनुपर्नेछ ।’

अन्र्तराष्ट्रिय बजारमा जीएसी आयोन र यसको ब्याट्री आपूर्तिकर्ता क्याल्बसँग सम्बन्धित ठूलो ब्याट्री समस्या भने देखिएको थियो । जुन मुख्य रूपमा आयोन एस गाडीमा प्रयोग भएका ब्याट्रीमा देखिएको हो। यस समस्याबाट दुई लाख दश हजारभन्दा बढी गाडी प्रभावित भएका थिए । समस्यामा ब्याट्रीका कोषहरू फुल्ने, ब्याट्रीभित्रको तरल पदार्थ चुहिने र गाडीको एकपटक चार्ज गरेपछि चल्ने दूरी घट्ने जस्ता समस्या देखिएका थिए।

सडकमा गुडिरहेको आयोन ब्रान्डको ईभी कारमा आगलागी, ‘गाडीकै कमजोरी देखियो’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*