विद्यालय भवनको बिलमा घुसकाण्ड, एक लाख ३५ हजार माग्ने तीन कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटामा कार्यरत तीन कर्मचारीविरुद्ध एक लाख ३५ हजार रुपैयाँ घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार भोजपुर जिल्लास्थित विद्यालयको नयाँ भवन निर्माण कार्यसँग सम्बन्धित अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढाउन विभिन्न प्राविधिक समस्या देखाउँदै सेवाग्राहीलाई दुःख हैरानी दिएको र घुस मागेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सबइन्जिनियर रविन श्रेष्ठले अन्तिम बिल भुक्तानीका लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग एक लाख ३५ हजार रुपैयाँ घुस मागेको खुलेको आयोगले जनाएको छ।
आयोगका अनुसार तीनै जनाले पूर्वयोजना बनाई घुस रकम आपसमा बाँडीचुँडी लिने सहमति गरेका थिए। सोही सहमतिअनुसार ५० हजार रुपैयाँ रविन श्रेष्ठको बैंक खातामा क्यूआरमार्फत दाखिला गर्न लगाइएको र बाँकी ८५ हजार रुपैयाँ सुमन राईले नगद बुझेका थिए।
यसअघि सेवाग्राहीसँग ८५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले इन्जिनियर राईलाई ललितपुरबाट नियन्त्रणमा लिएको थियो। आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले लेखा अधिकृत कार्की र सबइन्जिनियर श्रेष्ठलाई धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिएको थियो।
आयोगले अनुसन्धानबाट तीनै जनाको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गरेको छ। उनीहरूविरुद्ध एक लाख ३५ हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी लिइएको आयोगले जनाएको छ।











