चालकले बस भित्रै आत्मदहाको प्रयास गरेको घटनामा बन्यो छानबिन समिति

काठमाडौं । ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागी घटनाको कारण तथा त्यसअघि ट्राफिक प्रहरीसँग भएको भनिएको विवादबारे नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले घटनाको समग्र पक्ष अध्ययन गर्न एसएसपी रमेश बस्नेतको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको हो ।
प्रहरीका अनुसार आगलागी हुनुअघि बस चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको भनिएको कुराकानीलाई अनुसन्धानको महत्वपूर्ण आधार बनाइएको छ । टोलीले उनीहरूबीच भएको संवाद, घटनास्थल आसपासका सीसीटीभी क्यामेराबाट प्राप्त दृश्य तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो सामग्रीको अध्ययन गर्नेछ ।
आगलागी हुनुको वास्तविक कारण पत्ता लगाउनुका साथै घटनामा ट्राफिक प्रहरीको कुनै भूमिका वा संलग्नता रहे–नरहेको विषयसमेत समितिले छानबिन गर्ने भएको छ ।











