विपन्न नागरिकको उपचारमा स्वास्थ्य बीमा बोर्डले दियो १९ करोड ६८ लाख

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले विपन्न नागरिकको उपचारबापत देशभरका विभिन्न स्वास्थ्य संस्थालाई १९ करोड ६८ लाख ५७ हजार ५ सय रुपैयाँ ३० पैसा भुक्तानी गरेको छ।
बोर्डले २०८३ साउन महिनामा विपन्न नागरिकलाई उपलब्ध गराइएको औषधि तथा उपचार सेवाको शोधभर्नाबापत उक्त रकम भुक्तानी गरेको हो।
बोर्डका उपसचिव पुष्पप्रसाद गुरागाईंका अनुसार विभिन्न स्वास्थ्य संस्थाले उपचार सेवाबापत पेस गरेका कागजात रुजु तथा परीक्षण गरी स्वीकृत रकम सम्बन्धित संस्थाको बैंक खातामा पठाइएको हो।
बोर्डले डायलाइसिस, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी र क्यान्सरलगायत कडा रोगको उपचार सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई शोधभर्नाबापत रकम उपलब्ध गराएको जनाएको छ।
बोर्डको निर्णयअनुसार २०८३ भदौ १ गते रकम भुक्तानी गर्ने निर्णय भएको थियो। सोही निर्णयअनुसार भदौ ५ गते सम्बन्धित स्वास्थ्य संस्थाको बैंक खातामा रकम पठाइएको बोर्डले जनाएको छ।











