सचिव बैठकको निर्देशन : चाडपर्वमा सडक सुचारु राख्नेदेखि कालोबजारी नियन्त्रणसम्म

६ आश्विन २०८३, मंगलवार १७:३३

काठमाडौं । नेपाल सरकारका सचिवहरूको बैठकले आगामी दशैं, तिहार तथा छठजस्ता चाडपर्वका बेला देशभर सडक यातायात अवरुद्ध हुन नदिन तथा बजारमा हुनसक्ने कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि र अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्नेसहित सातवटा महत्त्वपूर्ण निर्णय गरेको छ।

मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले नागरिकसँग प्रत्यक्ष जोडिएका सार्वजनिक सेवा चुस्त राख्ने र सरकारी निर्णयहरूको कार्यान्वयनमा निगरानी बढाउने निर्णय गरेको हो।

बैठकले सक्रिय मनसुन र आगामी चाडपर्वलाई ध्यानमा राख्दै देशभर सडक यातायात नियमित राख्न सम्बन्धित निकायलाई विशेष तयारी गर्न निर्देशन दिएको छ। सडक अवरोध हुन नदिन तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्न आवश्यक जनशक्ति, स्रोतसाधन, यन्त्र तथा उपकरण तयारी अवस्थामा राख्ने गरी कार्यतालिका बनाउन भनिएको छ।

चाडपर्वको समयमा बजारमा हुनसक्ने अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी तथा अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न संयुक्त बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय पनि बैठकले गरेको छ।

बैठकले अघिल्ला सचिव बैठकका निर्णयहरूको कार्यान्वयन अवस्थासमेत समीक्षा गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को साउन ७ गते, भदौ १ गते र भदौ ११ गते बसेका सचिव बैठकका निर्णयहरू कार्यान्वयन भए/नभएको अवस्थाको मूल्यांकन गर्दै आगामी दिनमा कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ।

सरकारी निर्णयहरूको कार्यान्वयन अनुगमनलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन अनुगमन प्रणाली ‘सीडीआईएमएस’मा प्रविष्ट गरिएका निर्णयहरूको प्रगति, उपलब्धि र प्रभावसहितको प्रतिवेदन यथाशीघ्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनुपर्ने निर्णय भएको छ। प्रत्येक मन्त्रालयले आफ्ना निर्णय कार्यान्वयनको नियमित आन्तरिक अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्नेछ।

त्यस्तै, संवैधानिक निकायका प्रतिवेदनमा उल्लिखित सुझाव तथा संसदीय समितिले दिएका निर्देशनहरूको पूर्ण कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ।

राष्ट्रिय योजना आयोगबाट भइरहेको रसुवा भोटेकोशी बाढीपछिको आवश्यकता मूल्यांकन (पीडीएनए) कार्य समयमै सम्पन्न गर्न सम्बन्धित निकायहरूले तत्काल आवश्यक जनशक्ति उपलब्ध गराउने निर्णय बैठकले गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*