काठमाडौंमा ग्यास वितरण बढाइयो, उपभोक्तालाई अझै सास्ती

काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव अझै सहज हुन सकेको छैन । कृष्णभीरमा आएको पहिरोका कारण केही साताअघि अवरुद्ध भएको सडक सञ्चालनमा आइसके पनि उपत्यकामा ग्यासको सहज आपूर्ति हुन नसकेको हो ।
नेपाल आयल निगम लिमिटेडका अनुसार बुधबार दिउँसो १ बजेसम्म उपत्यकाका विभिन्न डिलरलाई बिक्रीका लागि ५२ हजार ८८४ थान ग्यास सिलिन्डर वितरण गरिएको छ । कृष्णभीरमा गत १३ भदौमा पहिरो गएयता बुधबार वितरण गरिएको ग्यासको संख्या सबैभन्दा धेरै हो ।
निगमका अनुसार बुधबार २१ वटा ग्यास उद्योगले आफ्ना डिलरमार्फत बजारमा बिक्रीका लागि ग्यास पठाएका छन् । तीमध्ये नेपाल ग्यासले सबैभन्दा धेरै ६ हजार ९९८ थान र सगर ग्यासले ६ हजार ५८७ थान सिलिन्डर डिलरकहाँ पठाएका छन् ।
यस्तै, श्रीमाया ग्यासले १ हजार ७६६, मनोज ग्यासले ३३०, मारुती ग्यासले ३७०, एसटिसी ग्यासले २ हजार ६२२, श्री ग्यासले ४ हजार ५१४, सूर्य ग्यासले १ हजार २९७, लोकप्रिय ग्यासले ५६०, श्रीराम ग्यासले २ हजार ६०५, भानु ग्यासले १ हजार २७० र ओम ग्यासले १ हजार ६६१ थान सिलिन्डर बजारमा पठाएका छन् ।
त्यस्तै, गीता ग्यासले ६५०, सीता ग्यासले ३ हजार ५६, हिमाल ग्यासले २ हजार ७२२, एचपी ग्यासले २ हजार ६२७, श्रीकृष्ण ग्यासले १ हजार ८५२, साइबाबा ग्यासले १ हजार ८०१, एभरेस्ट ग्यासले ६ हजार १४३, सुगम ग्यासले २ हजार ८९१ र नमस्ते ग्यासले ५६२ थान सिलिन्डर विभिन्न डिलरमार्फत बिक्रीका लागि पठाएका छन् ।
यसअघि मंगलबार उपत्यकामा ४० हजार ६०३ थान ग्यास सिलिन्डर बजारमा पठाइएको थियो ।










