भोटेकोशी बाढीका कारण नेपालको आर्थिक वृद्धिदर घट्ने एडीबीको प्रक्षेपण

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले नेपालमा गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको छ ।
एडीबीले बुधबार सार्वजनिक गरेको एशियन डेभलपमेन्ट आउटलुकले बाढीका कारण आर्थिक वृद्धिदर घट्न सक्ने तथा मुल्यवृद्धि बढ्न सक्ने जनाएको हो । सन् २०२७ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने अनुमान गरिएको छ । यसअघि यस्तो वृद्धिदर ४.५ प्रतिशत हुने अनुमान गरिएको थियो ।
त्यसैगरी सन् २०२७ मा मुल्यवृद्धि ५.३ प्रतिशत पुग्ने अनुमान गरिएको छ । यसअघि जुलाईमा आर्थिक वृद्धिदर ५ प्रतिशत रहने अनुमान गरिएको थियो । एडीबीको प्रतिवेदनले आर्थिक वृद्धिदर ०.४ प्रतिशतले घट्ने र मुल्यवृद्धि ०.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको हो ।
विनाशकारी बाढीका साथसाथै मध्यपूर्वमा चर्किएको द्वन्द्वले लागतमा थप चाप गर्ने भएकाले मुल्यवृद्धि बढ्ने अनुमान गरिएको हो । बाढीका कारण खाद्य तथा अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या आएको तथा ढुवानीको लागत बढेकाले मुल्यवृद्धि हुने प्रतिवेदनमा उल्लेख छ ।










