काठमाडौं विश्वविद्यालयका संस्थापक सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक तथा पूर्वउपकुलपति सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा शर्माको निधन भएको हो ।
सिन्धुलीको खुर्काेटमा जन्मिएका नेपालको उच्च प्राविधिक शिक्षाको विस्तार र विकासमा ४ दशकभन्दा लामो समयदेखि सक्रिय रहेका थिए । उनले काभ्रेको धुलिखेलमा काठमाडौं विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद (सीटीईभीटी) को स्थापनामा प्रमुख भूमिका निर्वाह गरेका थिए ।
उनी स्थापनादेखि लगातार २१ वर्षसम्म केयूको नेतृत्वमा रहेका थिए । सन् २०१२ सम्म केयूको उपकुलपति रहेका उनी २०४५ सालमा सीटीईभीटी स्थापनाका लागि सक्रिय थिए । उनले सीटीईभीटीको पहिलो कार्यकारी निर्देशक समेत रहेर काम गरेका थिए ।
त्रिचन्द्र क्याम्पसबाट स्नातक गरेका शर्माले त्रिभुवन विश्वविद्यालयबाटै स्नातकोत्तर गरेर त्यसैमा अध्यापनमा लागेका थिए । बेलायतबाट विद्यावारिधि (पीएचडी) गरेपछि उनी प्राविधिक शिक्षाको योगदानमा लागेका थिए ।










