बाढीले सूर्यकुण्ड हाइड्रोको ७ करोड आम्दानी गुम्यो, बीमा दाबी नगर्ने अवस्थामा कम्पनी

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनामा पहिरो र आकस्मिक बाढीका कारण विद्युत उत्पादन तथा निकासी लामो समयदेखि प्रभावित बनेको छ। आयोजनाका मुख्य संरचना तथा उपकरणमा प्रत्यक्ष भौतिक क्षति नपुगे पनि विद्युत प्रसारण पूर्वाधारमा भएको क्षतिका कारण उत्पादन पुनः सञ्चालन अनिश्चित बनेको हो।
नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा रहेको आयोजनाको मुख्य संरचना तथा उपकरणमा साउन ११ गतेको पहिरो र भदौ १० गते आएको आकस्मिक बाढीबाट कुनै प्रत्यक्ष क्षति नभएको कम्पनीले जनाएको छ। घटनापछि प्राविधिक टोली परिचालन गरी गरिएको स्थल निरीक्षणमा आयोजना संरचना तथा उपकरण सुरक्षित रहेको पाइएको कम्पनीको भनाइ छ।
आयोजनामा प्रत्यक्ष भौतिक क्षति नभएकाले कम्पनीले हालसम्म बीमा दाबीसमेत पेश गरेको छैन। कम्पनीका अनुसार आयोजना बीमित भए पनि बीमा दाबी गर्नुपर्ने गरी आयोजनाका मुख्य संरचना वा उपकरणमा क्षति नभएकाले अहिलेको अवस्थामा बीमा दाबी नगरिएको हो। यद्यपि, आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने संरचनामा पुगेको क्षतिका कारण विद्युत बिक्रीबाट हुने आम्दानी भने गुमिरहेको छ।
साउन ११ गते आएको पहिरोले नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनको टावरमा असर पुर्याएपछि आयोजनाबाट उत्पादित विद्युतको निकासी अवरुद्ध भएको थियो। प्रसारण संरचनाको मर्मत तथा पुनर्स्थापना अन्तिम चरणमा पुगेका बेला भदौ १० गते आयोजना क्षेत्र तथा आसपासमा आएको आकस्मिक बाढीले थप क्षति पुर्याएको कम्पनीले जनाएको छ।
बाढीका कारण आयोजनाको विद्युत निकासी हुँदै आएको नेपाल विद्युत प्राधिकरणको त्रिशूली–३बी हब सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न तत्काल सम्भव नभएको कम्पनीको भनाइ छ। आयोजनाका संरचना सुरक्षित रहे पनि प्रसारण पूर्वाधार पुनर्स्थापना नभएसम्म विद्युत उत्पादन र निकासी नियमित गर्न सक्ने अवस्था छैन।
कम्पनीले वैकल्पिक प्रसारण मार्गमार्फत विद्युत निकासी गर्न सकिने सम्भावनाबारे नेपाल विद्युत प्राधिकरणसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ। साथै, क्षतिग्रस्त त्रिशूली–३बी हब सबस्टेसनको पुनर्स्थापना तथा अन्य प्राविधिक विकल्पबारे समेत छलफल भइरहेको छ।
विद्युत उत्पादन तथा पावर इभ्याकुएसन अवरुद्ध हुँदा कम्पनीको आम्दानीमा समेत उल्लेख्य असर परेको छ। कम्पनीका अनुसार श्रावणदेखि असोज ११ गतेसम्म विद्युत उत्पादन हुन नसक्दा करिब ७ करोड ४१ लाख ६३ हजार २८८ रुपैयाँ ५१ पैसा आम्दानी गुमेको प्रारम्भिक अनुमान गरिएको छ। उपलब्ध उत्पादन तथा आम्दानीसम्बन्धी विवरणका आधारमा गरिएको यो प्रारम्भिक अनुमान भएकाले वास्तविक वित्तीय प्रभाव भने अन्तिम उत्पादन तथा लेखा विवरणपछि यकिन हुने कम्पनीले जनाएको छ।
उत्पादन कहिलेदेखि पुनः सञ्चालनमा आउने भन्ने निश्चित मिति भने कम्पनीले तोकेको छैन। प्रसारण लाइन र त्रिशूली–३बी हब सबस्टेसनको पुनर्स्थापना तथा वैकल्पिक प्रसारण मार्गको उपलब्धतामा आयोजनाको पुनः सञ्चालन निर्भर रहने देखिएको छ।
लामो समयसम्म विद्युत बिक्रीबाट आम्दानी हुन नसक्दा कम्पनीको नगद प्रवाहमा समेत दबाब परेको छ। कम्पनीका अनुसार आगामी पहिलो त्रैमासिक अवधिमा करिब ३० लाख ४५ हजार रुपैयाँ ब्याज दायित्व भुक्तानी गर्नुपर्ने अवस्था छ। विद्युत बिक्रीबाट हुने आम्दानी रोकिएका कारण ऋणको साँवा तथा ब्याज व्यवस्थापनमा समेत दबाब सिर्जना भएकाले ऋणदाता बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वय र छलफल भइरहेको कम्पनीले जनाएको छ।
साउनको पहिरो र भदौको आकस्मिक बाढीबाट कुनै मानवीय क्षति नभएको कम्पनीले स्पष्ट पारेको छ। घटनापछि व्यवस्थापनले आयोजना स्थलको प्रत्यक्ष निरीक्षण गरी संरचना तथा उपकरणको अवस्था र सम्भावित प्रभावको मूल्यांकन गरेको थियो। प्राविधिक टोलीको निरीक्षणबाट आयोजना संरचना तथा उपकरणमा प्रत्यक्ष क्षति नरहेको निष्कर्ष आएपछि बीमा दाबीसमेत अघि नबढाइएको कम्पनीले जनाएको छ।











