स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी आन्दोलनमा, तलब–भत्तासहित ५ बुँदे माग

१६ आश्विन २०८३, शुक्रबार १२:०६

काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा करार सेवामा कार्यरत कर्मचारीहरूले तलब तथा सेवा–सुविधासम्बन्धी माग सम्बोधन नभएको भन्दै पेन डाउन आन्दोलन सुरु गरेका छन्।

कर्मचारीहरूले बिहीबार दिउँसो ४ बजेदेखि पेन डाउन आन्दोलन सुरु गरेका हुन्। माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन्।

यसअघि कर्मचारीहरूले बुधबार बोर्ड व्यवस्थापनसमक्ष ज्ञापनपत्र बुझाउँदै २४ घण्टाभित्र माग सम्बोधन गर्न ध्यानाकर्षण गराएका थिए। तोकिएको समयसीमाभित्र व्यवस्थापनबाट माग सम्बोधनका लागि आवश्यक पहल नभएको भन्दै थप आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य भएको कर्मचारीहरूको भनाइ छ।

आन्दोलन अवधिभर बोर्डका करार कर्मचारीले कार्यालयसम्बन्धी कुनै पनि काम नगर्ने जनाएका छन्। आन्दोलनका क्रममा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी बोर्ड व्यवस्थापनले लिनुपर्ने उनीहरूले बताएका छन्।

के–के छन् कर्मचारीका माग ?

१। महँगी भत्ता उपलब्ध गराउनुपर्ने

कर्मचारीहरूले सर्वोच्च अदालतको आदेश अक्षरशः कार्यान्वयन गर्दै करार सेवामा कार्यरत कर्मचारीलाई महँगी भत्ता उपलब्ध गराउन माग गरेका छन्।

२। नयाँ तलबमान र १० प्रतिशत प्रोत्साहन भत्ता लागू गर्नुपर्ने

नेपाल सरकारको आर्थिक वर्ष २०८३र८४ को बजेटअनुसार नयाँ तलबमान तथा १० प्रतिशत प्रोत्साहन भत्ता तत्काल लागू गर्नुपर्ने उनीहरूको माग छ।

३। रोकिएको तलब तथा भत्ता भुक्तानी गर्नुपर्ने

साउन १ गतेदेखि बाँकी रहेको तलब, महँगी भत्ता, प्रोत्साहन भत्ता, फिल्ड भत्ता, स्थानीय भत्तालगायत सम्पूर्ण सुविधा यकिन गरी तत्काल भुक्तानी गर्नुपर्ने कर्मचारीहरूले माग गरेका छन्।

४। सामाजिक सुरक्षा र बिदा सुविधा लागू गर्नुपर्ने

बोर्डले स्वीकृत गरेको कार्यविधिअनुसार करार कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा तथा बिदासम्बन्धी सम्पूर्ण सुविधा लागू गर्नुपर्ने माग गरिएको छ।

५। सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्नुपर्ने

कर्मचारीमाथि हुने दबाब तथा अनुचित व्यवहार तत्काल बन्द गरी सम्मानजनक र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नुपर्ने कर्मचारीहरूको माग छ।

कर्मचारीहरूले माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*