भिटामिन डी ३ को मात्रा नमिलेपछि दुई औषधिको बिक्रीमा रोक

१६ आश्विन २०८३, शुक्रबार १३:०६

काठमाडौं । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका दुईवटा औषधिका ब्याच न्यून गुणस्तरको पाइएको भन्दै बिक्रीवितरणमा रोक लगाएको छ । विभागले ती औषधि बजारबाट तत्काल फिर्ता गर्न सम्बन्धित उद्योग तथा आधिकारिक प्रतिनिधिलाई निर्देशन दिएको छ ।

विभागका अनुसार राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणका क्रममा फार्मानिक्स लाइफ साइन्सेज, सुनसरीद्वारा उत्पादित ‘विनक्याल’ (ब्याच नं. ०४२/०३५) र नोभा जेनेटिका प्रालि, धादिङद्वारा उत्पादित ‘क्याल्सिजेन–एफ’ (ब्याच नं. सीभीडी ३–३०६) मा भिटामिन डी ३ को मात्रा तोकिएको मापदण्डअनुसार नरहेको पाइएको हो ।

गुणस्तर परीक्षणमा मापदण्डविपरीत देखिएपछि विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम ती दुवै औषधिको सिफारिस, बिक्रीवितरण तथा प्रयोग नगर्न र नगराउन चिकित्सक, स्वास्थ्यकर्मी, औषधि व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।

विभागले सम्बन्धित उद्योग तथा आधिकारिक प्रतिनिधिलाई तोकिएका ब्याचका औषधि बजारबाट तुरुन्त फिर्ता गरी फिर्ता गरिएका औषधिको विवरण विभागमा पेश गर्नसमेत निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*