सर्वोच्च अदालतको न्यायाधीश सिफारिसमा बरियता मिचियो

काठमाडौं । न्याय परिषदले बरियताक्रम मिचेर सर्वोच्च अदालतमा चार जना न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतमा रिक्त चार जना न्यायाधीश पदमा परिषदको बैठकले उच्च अदालतका मुख्य न्यायाधीशहरु मध्येबाट नियुक्ती गर्दा बरियताक्रम मिचेर नियुक्ती गरेको हो ।
मंगलबार बसेको न्याय परिषदको बैठकले उच्च अदालतका एक जना मुख्य न्यायाधीश र बाँकी उच्चकै न्यायाधीशहरु मध्येबाट न्यायाधीश सिफारिस गरेको हो । सर्वोच्चका न्यायाधीशमा सिफारिस भएकाहरुमा उच्च अदालत पोखराका मुख्यन्यायाधीश रत्नबहादुर बागचन्द र उच्च अदालतका न्यायाधीशहरु चन्द्र बहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।

गत वर्ष न्याय परिषदले प्रकातिश गरेको आधिकारिक बुलेटिनमा उच्च अदालतका न्यायाधीश थारु पाँच नम्बर वरियतामा छन् भने अर्का न्यायाधीश पाण्डे १३ र न्यायाधीश डाँगी १६ नम्बर वरियताक्रममा थिए ।
न्याय परिषदले उच्च अदालतका मुख्यन्यायाधीशहरुलाई पन्छाएर वरियताको तल रहेका न्यायाधीशहरुलाई सर्वोच्च ल्याउन सिफारिस गर्ने निर्णय गरेको छ । अब संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि उनीहरु सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनेछन् ।
सुशासन र पारदर्शिताको नारा दिएर जनमत पाई सरकार चलाइरहेको रास्वपा नेतृत्वको सरकारको कानुन मन्त्री समेत उपस्थित हुने न्यायपरिषदले यस्तो निर्णय गरेको हो ।











