बेपत्ता नागरिकलाई ४५ दिनमै मृत घोषणा गर्न कानुन संशोधन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले प्राकृतिक विपद्मा परी बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्न लाग्ने अवधि १२ वर्षबाट घटाएर करिब ४५ दिनमा झार्ने तयारी गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसका लागि विद्यमान कानुनी व्यवस्था संशोधन गर्ने निर्णय गर्दै सम्बन्धित अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले भूमि, वन तथा विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेका अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
विपद्सम्बन्धी अध्यादेशमा विशेषगरी प्राकृतिक विपद्मा परी बेपत्ता भएका व्यक्तिको हकमा मृत घोषणा गर्ने कानुनी प्रक्रियालाई सहज बनाउने व्यवस्था प्रस्ताव गरिएको छ। हालको कानुनी प्रावधानअनुसार बेपत्ता भएको १२ वर्षपछि मात्र व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था छ।
भोटेकोशीमा आएको बाढीलगायत पछिल्ला प्राकृतिक विपद्का घटनालाई समेत मध्यनजर गर्दै कानुनी व्यवस्था संशोधन गर्न लागिएको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार अब बेपत्ता भएको करिब ४५ दिनमै मृत घोषणा गर्न सकिने गरी व्यवस्था संशोधन गर्ने तयारी गरिएको छ।
यो व्यवस्था हालैका विपद्का घटनामा बेपत्ता भएकाहरूका परिवारमा मात्र सीमित नरही भविष्यमा हुने सबै प्राकृतिक विपद्का घटनामा लागू हुने गरी ल्याउन लागिएको सरकारले जनाएको छ।











