ग्लोबल आइएमईका सबै शाखाबाट अमेरिकी डलर सटही सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र रहेका आफ्ना सम्पूर्ण शाखामार्फत अमेरिकी डलर सटही सुविधा उपलब्ध गराएको छ।
विदेश भ्रमण, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि विदेश जाने यात्रुहरूलाई विदेशी मुद्रा व्यवस्थापनमा सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका सबै शाखाबाट अमेरिकी डलर सटही सेवा विस्तार गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार अमेरिकी डलर सटही गर्न चाहने सेवाग्राहीले सम्बन्धित देशको भिसा, हवाई टिकट र राहदानीसहित आफूलाई पायक पर्ने जुनसुकै शाखामा सम्पर्क गर्न सक्नेछन्।
नेपाल राष्ट्र बैंकको प्रचलित विदेशी विनिमय व्यवस्था तथा नीतिअनुसार तोकिएको सीमासम्मको अमेरिकी डलर नगद वा कार्डमार्फत उपलब्ध गराइने बैंकले जनाएको छ।
यसअघि सीमित मुख्य शाखाबाट मात्र नगद विदेशी मुद्रा लिनुपर्ने अवस्था रहेकामा अब उपत्यकाका सबै शाखाबाटै डलर सटही सुविधा उपलब्ध भएपछि सेवाग्राहीको समय बचत हुनुका साथै विदेश यात्रा थप सहज हुने बैंकको विश्वास छ।
बैंकका अनुसार उक्त सेवासम्बन्धी थप जानकारी तथा सोधपुछका लागि ग्राहक सेवा केन्द्र ‘ग्लोबल कनेक्ट’ मा सम्पर्क गर्न सकिनेछ। ग्लोबल कनेक्टको फोन नम्बर ०१–५९७०६०० र इमेल [email protected] रहेको बैंकले जनाएको छ।











