विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुलाउँदै सरकार

काठमाडौँ । सरकारले आन्तरिक खपत र अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारका लागि निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।
नेपालमा विद्युत् उत्पादन क्षमता विस्तार भइरहेकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उत्पादन र मागबीच सन्तुलन कायम गर्दै बजार पहुँचका लागि कानूनी, नियामकीय र संस्थागत आधार सुदृढ बनाउन लागेको हो। यसअन्तर्गत ऊर्जा क्षेत्रलाई उत्पादन प्रसारण आन्तरिक खपत विद्युत् व्यापार-क्षेत्रीय ऊर्जा बजार’ को एकीकृत प्रणालीका रूपमा विकास गर्ने नीति लिइएको छ।
यस प्रक्रियामा निजी क्षेत्रलाई बजार खोजी, साझेदार पहिचान र जोखिम व्यवस्थापनको अवसर दिइनेछ। सो प्रयोजनका लागि प्रस्तावित व्यापारिक कम्पनीहरूलाई पूर्वतयारीस्वरूप नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) वा आशयपत्र (एलओआई) प्रदान गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यद्यपि, एनओसी।एलओआई अन्तिम लाइसेन्स भने होइन।











