बुद्ध एयरले भन्यो- ‘भ्रामक स्क्रिनसटको पछि नलाग्नुस्, बढी भाडा लिए कारबाही हुन्छ’

काठमाडौं । बुद्ध एयरले आफ्नो आधिकारिक भाडादरभन्दा बढी रकम लिएर टिकट बिक्री गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।
कम्पनीले सामाजिक सञ्जाल तथा केही अनलाइन माध्यममा फोटोशप वा एआईको प्रयोग गरी तयार पारिएका भ्रामक स्क्रिनसटमार्फत हवाई भाडाबारे गलत सूचना फैलाइएको दाबी गरेको छ। बुद्ध एयरले यात्रुलाई सामाजिक सञ्जालमा देखिएका स्क्रिनसट वा अपुष्ट विवरणका आधारमा हवाई भाडाबारे निष्कर्ष ननिकाल्न आग्रह गर्दै आधिकारिक स्रोतबाट मात्र जानकारी लिन अनुरोध गरेको हो।
बुद्ध एयरका अनुसार काठमाडौंबाट धनगढीसम्मको एकतर्फी भाडा १० हजार ८ सय रुपैयाँमा उपलब्ध गराइँदै आएको छ। न्यूनतम भाडादरमा टिकट उपलब्ध गराइएकै कारण आगामी धेरै दिनका उडानका टिकट बिक्री भइसकेको कम्पनीले जनाएको छ।
रसुवा क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण सडक यातायात प्रभावित भएकाले यात्रुलाई सहज सेवा उपलब्ध गराउन बाटोघाटो सामान्य नहुन्जेल तथा दसैं–तिहार अवधिसम्म न्यूनतम भाडादर कायम गर्ने नीति लिएको बुद्ध एयरले जनाएको छ।
कम्पनीले आफ्नो आधिकारिक प्रणाली, वेबसाइट, मोबाइल एप वा मान्य बिक्री माध्यमबाहेक कुनै व्यक्ति वा ट्राभल एजेन्सीले अनधिकृत रूपमा बढी मूल्यमा टिकट बिक्री गरेको पाइए कानुनी कदम चालिने स्पष्ट पारेको छ।
हाल काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढी रहेको र काठमाडौं भित्रिने यात्रुको संख्या तुलनात्मक रूपमा कम रहेको कम्पनीले जनाएको छ। काठमाडौं आउने यात्रुका लागि भने बुद्ध एयरको वेबसाइट तथा मोबाइल एपमार्फत प्रोमो कोड प्रयोग गरी न्यूनतम भाडादरका अफरसमेत उपलब्ध गराइएको बताइएको छ।











