थापाथलीस्थित राष्ट्र बैंकको कार्यालयमा नयाँ नोट साट्नेको भीड

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा उपलब्ध गराएपछि काठमाडौंको थापाथलीस्थित केन्द्रीय कार्यालयमा सर्वसाधारण नयाँ नोट साट्न पुग्न थालेका छन्।
यस वर्ष अघिल्ला दुई वर्षको तुलनामा फरक रूपमा नयाँ नोट नै वितरण गर्ने व्यवस्था मिलाइएको छ। अघिल्ला दुई वर्षमा राष्ट्र बैंकले प्रयोगमा रहेका सुकिला नोट वितरण गरेको थियो। राष्ट्र बैंकका केन्द्रीय तथा क्षेत्रीय कार्यालयसँगै बैंक तथा वित्तीय संस्थाका शाखाबाट पनि नयाँ नोट साट्न सकिने व्यवस्था गरिएको छ।
असोज १ देखि २० गतेसम्म १० अर्ब रुपैयाँ बराबरका नयाँ नोट राष्ट्र बैंकबाट बाहिरिइसकेका छन्। त्यसमध्ये ८ अर्ब ३३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामार्फत र १ अर्ब ६७ करोड रुपैयाँ सर्वसाधारणलाई वितरण गरिएको छ।
यस वर्ष सार्वजनिक बिदाबाहेक अन्य दिन नयाँ नोट साट्न सकिने व्यवस्था गरिएको छ। सर्वसाधारणले आफूलाई पायक पर्ने राष्ट्र बैंकको कार्यालय वा बैंक तथा वित्तीय संस्थाको शाखाबाट एक–दुई सेटसम्म नयाँ नोट साट्न सक्नेछन्। धेरै रकमका नोट आवश्यक पर्नेका लागि भने सुकिला नोट उपलब्ध गराउने व्यवस्था गरिएको छ।
विगतमा ५ रुपैयाँदेखि १०० रुपैयाँका एक/एक बण्डल गरी प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ बराबरका नोट साट्ने सुविधा दिंदै आएकोमा यस वर्ष एक बण्डलभन्दा बढी नोट साट्न सकिने सुविधा दिएका छ। यस वर्ष एटीएमबाट समेत १०० रुपैयाँ दरका नोट निकाल्न सकिने व्यवस्था गरिएकाले नयाँ नोट साट्न बैंकमा पुग्नेको चाप कम हुने राष्ट्र बैंकले जनाएको छ।











