उत्पादन मात्रै होइन, नेपाली ब्रान्डलाई पनि विश्व बजारमा चिनाउनुपर्छ : मल्होत्रा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले नेपाली उत्पादनको ब्रान्डिङ, गुणस्तर र बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । उनले नेपाली उत्पादन राम्रो हुँदाहुँदै पनि प्रभावकारी ब्रान्डिङको अभावमा स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा अपेक्षित पहिचान बनाउन नसकेको बताए ।
‘नेपाली ब्रान्ड परिसंरचना, २०८३’ सम्बन्धी अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मल्होत्राले नेपालमा नेपाली वस्तुको ब्रान्डिङ कमजोर रहेको र कतिपय अवस्थामा नक्कली ब्रान्डसमेत बजारमा बिक्री भइरहेको बताए ।
“नेपालमा धेरै सम्भावना भएका वस्तु छन् । छुर्पी, बेसार र अलैँचीजस्ता उत्पादनको पनि प्रभावकारी ब्रान्डिङ गर्न सकिएको छैन,” उनले भने, “ब्रान्डिङका क्षेत्रमा कानुनी समस्या पनि छन्। उपर्युक्त कानुन बनाई कानुनलाई छिटोभन्दा छिटो प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ ।”
उनले नेपाली ब्रान्ड केवल कुनै वस्तु वा सेवाको नाम मात्र नभई उत्पादन क्षमता, उद्यमशीलता, रोजगारी, लगानी, प्रविधि, गुणस्तर र नेपालको आर्थिक पहिचानसँग जोडिएको विषय भएको बताए ।
नेपालमा उत्पादन बढाउने, आयात घटाउने र निर्यात विस्तार गर्ने विषयमा लामो समयदेखि बहस हुँदै आए पनि उत्पादन बढाउनु मात्र पर्याप्त नहुने उनको भनाइ थियो । उत्पादनसँगै ब्रान्डिङ, गुणस्तर, बजार विस्तार र उपभोक्ताको विश्वास निर्माणमा पनि उत्तिकै ध्यान दिनुपर्ने उनले बताए ।
“नेपाली उत्पादन राम्रो हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको पहिचान अपेक्षाकृत कमजोर छ,” मल्होत्राले भने, “त्यसैले ‘मेड ईन नेपाल’ लाई विश्व बजारमा बलियो पहिचान बनाउन सरकार, निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक छ ।”
उनले नेपाली ब्रान्डलाई नेपालको बजारमा मात्र सीमित नराखी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्नेमा जोड दिए । त्यसका लागि सरकारले स्थिर नीति, सहज व्यावसायिक वातावरण, लगानीमैत्री कानुन, पूर्वाधार र प्रविधिको विकास गर्नुपर्ने उनले बताए ।
निजी क्षेत्रले उत्पादनको गुणस्तर, नवप्रवर्तन र प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने तथा सञ्चार क्षेत्रले नेपाली उत्पादन र सफल उद्यमशीलताका सकारात्मक कथा स्वदेश तथा विदेशमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने मल्होत्राको भनाइ थियो ।
नेपाली उद्योग तथा व्यवसायको विकास, स्वदेशी उत्पादनको प्रवद्र्धन र नेपाली ब्रान्डको पहिचानलाई प्राथमिकतामा राखेर अध्ययन तथा प्रतिवेदन तयार गरेकोमा उनले कर्पोरेट नेपाललाई धन्यवाद तथा बधाई दिए । उनले प्रतिवेदनले नेपाली ब्रान्डको वर्तमान अवस्था, चुनौती र सम्भावना बुझ्न महत्वपूर्ण आधार प्रदान गर्ने बताए ।
कार्यवाहक अध्यक्ष मल्होत्राले ‘नेपाली ब्रान्ड परिसंरचना, २०८३’ सम्बन्धी प्रतिवेदन आगामी दिनमा नीति निर्माण तथा व्यवसायिक रणनीति तय गर्नसमेत उपयोगी हुने विश्वास व्यक्त गरे। उनले अध्ययन, अनुसन्धान र तथ्यमा आधारित बहसले निजी क्षेत्रलाई थप सशक्त बनाउन सहयोग पुग्ने बताए ।
उनले नेपाली उत्पादनलाई स्वदेशी बजारमा मात्र नभई विश्व बजारमा समेत गर्वका साथ स्थापित गर्न सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए । नेपाली ब्रान्डको विकाससँगै उत्पादन, रोजगारी, निर्यात र समग्र अर्थतन्त्रलाई थप बलियो बनाउन सकिने उनको भनाइ थियो ।











