पोखरामा स्कुल बस दुर्घटनाः चार विद्यार्थीसहित पाँच जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो। बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल पठाइएको थियो। उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा करिब १२–१४ वर्ष उमेरका चार बालबालिका र पोखरा महानगरपालिका–२८ का ६५ वर्षीय बाबुराम तिवारी छन्। मृतक चार बालबालिकामध्ये दुई जनाको नाम ममता तिवारी र अशिम कँडेल खुलेको छ। अन्य दुई बालिकाको नाम र ठेगाना खुल्न सकेको छैन।
घाइतेमध्ये तीन जनाको गण्डकी मेडिकल कलेजमा र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको प्रारम्भिक विवरण छ। घाइते हुनेमा बसका चालक ५७ वर्षीय तुलबहादुर गुरुङ पनि छन्।
दुर्घटनामा उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाही पनि सामान्य घाइते भएका छन्। उनको गण्डकी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।











