संस्थागत अस्तित्व र वैधानिक पद्धतिमाथि हस्तक्षेपप्रति क्यान महासंघको गम्भीर ध्यानाकर्षण

२३ आश्विन २०८३, शुक्रबार ११:५५

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) जस्तो सूचना प्रविधि क्षेत्रको साझा, वैधानिक र संस्थागत निकायलाई व्यक्तिगत स्वार्थपूर्तिको माध्यम बनाउने तथा महासंघको विधान, निर्णय प्रक्रिया, संस्थागत मर्यादा र प्रशासनिक संरचनामाथि हस्तक्षेप गर्ने गतिविधिप्रति क्यान महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव चन्द्र बिलास भुर्तेल र पूर्वअध्यक्ष नवराज कुँवरबाट महासंघको विधान तथा संस्थागत निर्णय प्रक्रियाविपरीत भएका गतिविधिले महासंघको नियमित कामकारबाही, आधिकारिक सञ्चार प्रणाली र संस्थागत स्वायत्ततामाथि गम्भीर असर परेको विषय स्पष्ट पार्न  विज्ञप्ति जारी गरेको छ ।

महासंघले उठाएका विषयलाई ६ बुँदामा प्रस्तुत गरेको छ ।

१. विधानविपरीत एकलौटी सिफारिस

क्यान महासंघको विधानअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थामा महासंघको प्रतिनिधित्व गर्ने वा प्रतिनिधि पठाउने अधिकार अध्यक्ष तथा केन्द्रीय कार्यसमितिमा निहित छ । तर, केन्द्रीय कार्यसमितिको निर्णय तथा जानकारीबिनै महासचिव चन्द्र बिलास भुर्तेलले पूर्वअध्यक्ष नवराज कुँवरको २०८३ साउन १९ गतेको पत्रका आधारमा भदौ २ गते महासंघको संस्थागत इमेल प्रयोग गरी ASOCIO को उपाध्यक्ष पदका लागि कुँवरको नाम सिफारिस गरेको महासंघले जनाएको छ ।

संस्थाको वैधानिक निर्णय प्रक्रिया र कार्यसमितिको अधिकारलाई बेवास्ता गर्दै गरिएको उक्त सिफारिसलाई महासंघले संस्थागत पद्धतिको गम्भीर उल्लङ्घनका रूपमा लिएको छ ।

२. सचिवालय बन्द तथा आधिकारिक इमेलमा अनधिकृत नियन्त्रण

महासंघका अनुसार उक्त विषयमा भदौ ४ गते बसेको पदाधिकारी बैठकमा प्रश्न उठेपछि पनि समस्या समाधानका लागि संस्थागत प्रक्रिया अघि बढाउनुको सट्टा भदौ ५ गतेका लागि निर्धारित केन्द्रीय कार्यसमिति बैठक प्रभावित हुने गरी सचिवालय बन्द गरिएको थियो । साथै, महासंघको आधिकारिक इमेलको पासवर्ड परिवर्तन गरी एकलौटी नियन्त्रण कायम गरिएको आरोप लगाइएको छ ।

महासंघको आधिकारिक छाप, दर्ता तथा चलानी किताबसमेत नियन्त्रणमा राखिएको घटनाले नियमित प्रशासनिक तथा आधिकारिक कामकारबाहीमा अवरोध सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ । क्यान महासंघ कुनै व्यक्तिको निजी सम्पत्ति नभई विधि, विधान र सामूहिक निर्णयबाट सञ्चालन हुने साझा संस्था भएकाले संस्थाका आधिकारिक स्रोत, दस्तावेज, सञ्चार प्रणाली तथा प्रशासनिक संरचनामा अनधिकृत नियन्त्रण स्वीकार्य नहुने महासंघको भनाइ छ ।

३. लेटरप्याड तथा छापको दुरुपयोग

महासंघको आधिकारिक निर्णय प्रक्रिया पूरा नभइसकेको अवस्थामा जाकार्ताबाटै महासंघको लेटरप्याड तथा छाप प्रयोग गरी विज्ञप्ति जारी गरिएको विषयमा समेत आपत्ति जनाइएको छ ।

संस्थाको आधिकारिक लेटरप्याड, छाप तथा अन्य स्रोत व्यक्तिगत वा अनधिकृत गतिविधिका लागि प्रयोग हुँदा संस्थाको मर्यादा, विश्वसनीयता र आधिकारिकतामाथि गम्भीर प्रश्न उठ्ने महासंघले जनाएको छ । महासंघको नाम र आधिकारिक पहिचान प्रयोग गरी सदस्य तथा सरोकारवालाबीच भ्रम सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार नगरिने विज्ञप्तिमा उल्लेख छ ।

४. ASOCIO प्रतिनिधित्वबारे महासंघको आधिकारिक निर्णय

महासंघले कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको अध्यक्षतामा बसेको विधिसम्मत बैठकले ASOCIO मा आधिकारिक प्रतिनिधि पठाउने निर्णय गरिसकेको स्पष्ट पारेको छ ।

महासंघको विधान, संस्थागत निर्णय र आधिकारिक प्रक्रियालाई बेवास्ता गरी गरिएको कुनै पनि प्रतिनिधित्वलाई आधिकारिक रूपमा स्वीकार नगरिने विज्ञप्तिमा उल्लेख छ । संस्थागत प्रक्रिया पूरा नगरी ASOCIO को साधारण सभामा सहभागी हुने तथा उपाध्यक्ष पदमा निर्वाचित भएको दाबी गर्ने कार्यले महासंघको आधिकारिक निर्णय प्रक्रियालाई चुनौती दिएको महासंघको ठहर छ ।

५. कानुनी प्रक्रिया अघि बढाइयो

महासंघको आधिकारिक इमेल, लेटरप्याड, छाप तथा संस्थागत स्रोतको प्रयोगसँग सम्बन्धित घटनाक्रमबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको महासंघले जनाएको छ ।

यस सम्बन्धमा नेपाल प्रहरीको साइबर ब्युरो तथा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा आधिकारिक उजुरी दर्ता भइसकेको विज्ञप्तिमा उल्लेख छ । महासंघको संस्थागत अस्तित्व, स्वायत्तता, सम्पत्ति, दस्तावेज, आधिकारिक सञ्चार प्रणाली तथा वैधानिक निर्णय प्रक्रियामाथि हुने हस्तक्षेपका सम्बन्धमा प्रचलित कानुन र महासंघको विधानअनुसार आवश्यक कानुनी तथा संस्थागत कारबाही अघि बढाइने जनाइएको छ ।

६. सदस्य तथा सरोकारवालालाई अनधिकृत प्रचारको पछि नलाग्न अपिल

क्यान महासंघले आफ्ना सम्पूर्ण सदस्य, प्रदेश तथा जिल्ला शाखा, सम्बद्ध संस्था, सूचना प्रविधि क्षेत्रका सरोकारवाला तथा शुभेच्छुकलाई महासंघका वैधानिक निकाय र आधिकारिक सञ्चार माध्यमबाट सार्वजनिक हुने सूचना तथा धारणालाई मात्र आधिकारिक मान्न आग्रह गरेको छ । अनधिकृत तथा भ्रमपूर्ण प्रचारप्रसारको पछि नलाग्न पनि महासंघले अपिल गरेको छ ।

क्यान महासंघ कुनै व्यक्ति विशेषको स्वार्थ, नियन्त्रण वा व्यक्तिगत महत्वाकांक्षा पूरा गर्ने संस्था नभई नेपालको सूचना प्रविधि क्षेत्रको साझा प्रतिनिधिमूलक निकाय भएको विज्ञप्तिमा उल्लेख छ । महासंघले आफ्नो विधान, संस्थागत मर्यादा, सामूहिक निर्णय प्रणाली, स्वायत्तता र अस्तित्वको संरक्षणका लागि आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता जनाएको छ ।

महासंघलाई कमजोर बनाउने, संस्थागत संरचनालाई बन्धक बनाउने वा व्यक्तिगत स्वार्थअनुसार सञ्चालन गर्ने कुनै पनि प्रयासको संस्थागत रूपमा प्रतिरोध गरिने महासंघले स्पष्ट पारेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*