बिन्ध्यबासिनी हाइड्रोपावरले ५% बोनस शेयर दिएर शतप्रतिशत हकप्रद ल्याउने, बोलायो साधारणसभा

२८ आश्विन २०८३, बुधबार ०७:२३

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले उक्त प्रस्तावसहित शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि वार्षिक साधारणसभामा लैजाने भएको छ।

कम्पनीले कात्तिक १८ गते बुधबार काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ९ः३० बजे दसौँ वार्षिक साधारणसभा बोलाएको छ। सभामा भर्चुअल माध्यमबाट समेत सहभागी हुन सकिने कम्पनीले जनाएको छ।

सभामा कम्पनीको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षणसहितको वित्तीय विवरण पारित गर्ने प्रस्ताव पेस हुनेछ। त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव सभामा पेस गर्नेछ। यसका साथै हाल कायम पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने र त्यसबाट प्राप्त रकम उपयोग गर्ने प्रस्ताव पनि अघि बढाइनेछ। कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्तावसमेत सभाको कार्यसूचीमा समावेश छ।

त्यस्तै, कम्पनीको साधारण शेयरमा परिणत हुने गरी ऋणपत्र जारी गर्ने तथा त्यसबाट प्राप्त रकम उपयोग गर्ने विषयमा पनि छलफल हुनेछ। आर्थिक वर्ष २०८२/८३ मा सञ्चालक समितिबाट भएका व्यवसाय सञ्चालन, लगानी, ऋण तथा कर्पोरेट ग्यारेन्टीसम्बन्धी निर्णय अनुमोदनका लागि पेस गरिनेछ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ। त्यसैले उक्त मितिभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका शेयरधनीले मात्रै साधारणसभामा भाग लिन पाउनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*