जीवन बीमाको प्रथम बीमाशुल्क २२% ले बढ्यो, वृद्धिदरमा अधिकांश कम्पनी आक्रामक

काठमाडौं । चालु आर्थिक वर्ष २०८३।०८४ को दोस्रो महिनासम्ममा जीवन बीमा कम्पनीहरुले झण्डै ८ अर्ब रुपैयाँ प्रथम बीमाशूल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा १४ जीवन बीमा कम्पनीहरुले ७ अर्ब ९६ करोड ८३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।
कम्पनीले आर्जन गरेको प्रथम बीमाशुल्क गत आर्थिक वर्ष २०८२।०८३ को सोहि अवधिको तुलनामा २१.८२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको साउन र भदौमा जीवन बीमा कम्पनीहरुले ६ अर्ब ५४ करोड ११ लाख रुपैयाँ आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको दुई महिनामा सर्वाधिक प्रथम बीमाशुल्क आर्जन गर्ने नेपाल लाइफ इन्स्योरेन्स अघि रहेको छ । कम्पनीले साउन र भदौ महिनामा २ अर्ब ९ करोड ४५ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको तथ्याङ्कमा उल्लेख छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३८ प्रतिशतले बढी हो ।
धेरै प्रथम बीमाशुल्क आर्जन गर्ने दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब १४ करोड ३९ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको प्रथम बीमाशुल्क गत वर्षको तुलनामा २३.४० प्रतिशतले बढेको हो ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क ४२.७२ प्रतिशतले बढेर ५९ करोड २८ लाख रुपैयाँ पुगेको छ भने सिटिजन लाइफको १९ प्रतिशतले बढेर ५२ करोड ७४ लाख रुपैयाँ पुगेको छ । एलआईसी नेपालको प्रथम बीमाशुल्क ६.२२ प्रतिशतले बढेर ५० करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क २१ प्रतिशतले बढेर ४५ करोड ७२ लाख रुपैयाँ पुगेको छ । आइएमई लाइफको प्रथम बीमाशुल्क भने ५३.२६ प्रतिशतले बढेर ४४ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा रिलायबल नेपालको प्रथम बीमाशुल्क ३७.१४ प्रतिशतले बढेर ३९ करोड ७६ लाख रुपैयाँ पुगेको छ । एशियन लाइफ इन्स्योरेन्सका ४५ प्रतिशतले बढेर ३९ करोड, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७३ प्रतिशतले बढेर ३४ करोड रुपैयाँ पुगेको छ ।
प्रथम बीमाशुल्क सर्वाधिक वृद्धि गर्नेमा सन नेपाल लाइफ अगाडी रहेको छ । कम्पनीको प्रथम बीमा शुल्क ९२ प्रतिशतले बढेर २ अर्ब ५ करोड रुपैयाँ पुगेको हो ।











