टक्सार पिखुवा खोलाको १ लाख ४९ हजार कित्ता शेयरको लकइन अवधि मंसिर ५ गते सकिँदै

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको १ लाख ४९ हजार ३२ कित्ता साधारण शेयरको लकइन अवधि आगामी मंसिर ५ गतेदेखि समाप्त हुने भएको छ। कम्पनीले सूचना जारी गर्दै उक्त शेयरको लकइन अवधि समाप्त हुन लागेको जानकारी दिएको हो।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको कुल ४२ लाख ३० हजार ६६८ कित्ता साधारण शेयरमध्ये १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको थियो। नियमअनुसार सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको शेयरको लकइन अवधि सर्वसाधारणलाई शेयर बाँडफाँड भएको मितिले छ महिनामा समाप्त हुने व्यवस्था छ।
कम्पनीका अनुसार सामूहिक लगानी कोषका दुई योजना परिपक्व भइसकेकाले नेपाल धितोपत्र बोर्डको व्यवस्थाअनुसार ती योजनाको स्वामित्वमा रहेका २ हजार ५०१ कित्ता शेयर भने लकइन अवधि पूरा हुनुअघि नै फुकुवा गरिएको थियो। बाँकी १ लाख ४९ हजार ३२ कित्ता शेयरको लकइन अवधि मंसिर ५ गतेपछि समाप्त हुनेछ। कम्पनीको शेयर रजिस्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ।











