लगातार पाँचौ दिन समेत हरियाली बजारः दशैंपछि बुलिस ट्रेन्डको आशा, प्रवेश गर्ने सही मौका हो ?

काठमाडौँ । नेपाली शेयर बजारमा पछिल्लो समय हरियाली छाएको छ । दशैंको मुखमा बजारमा लगातार पाँचौँ दिनसम्म सुधार देखिएसँगै लगानीकर्तामा केही उत्साह थपिएको छ । दशैं खर्चको जोहो गर्न यसअघि शेयर बिक्री गरेका लगानीकर्ताहरू अहिले पुनः बजार प्रवेश गर्न थालेको देखिन्छ । यद्यपि, अब शेयर बिक्री गर्दा दशैंअघि नै रकम खातामा आउने सम्भावना नरहेकाले लगानीकर्ताले कारोबारसम्बन्धी निर्णयमा सावधानी अपनाउनुपर्ने अवस्था छ ।
लामो समयदेखि सुस्त रहेको शेयर बजारलाई सकारात्मक दिशा दिन नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले विभिन्न नीतिगत तथा नियामकीय व्यवस्थामा सुधार गरेका थिए । तर, ती सुधारले तत्कालै बजारमा अपेक्षित प्रभाव पार्न सकेका थिएनन् । दशैं नजिकिँदै गर्दा भने बजारमा सुधारको संकेत देखिन थालेको छ । बजारमा देखिएको पछिल्लो वृद्धिले लगानीकर्ताको मनोबल बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
केही बजार जानकारहरूले अहिले शेयर बजारमा प्रवेश गर्ने उपयुक्त समय हुन सक्ने बताएका छन् । बजार तुलनात्मक रूपमा न्यून बिन्दुमा रहेको र नियामकीय सुधारका काम अघि बढिसकेकाले दशैंपछि बजारले सकारात्मक गति लिन सक्ने उनीहरूको विश्वास छ । दशैंअघि अब दुई दिन मात्रै शेयर कारोबार हुने भएकाले त्यसपछिको बजारको दिशा लगानीकर्ताका लागि चासोको विषय बनेको छ । यद्यपि, बजारमा हुने उतारचढावलाई ध्यानमा राख्दै लगानीसम्बन्धी निर्णय गर्नुपर्ने देखिन्छ ।
बजारमा सुधारका संकेत देखिए पनि केही चुनौती भने कायमै छन् । ठूला लगानीकर्ताको रकमको स्रोतसम्बन्धी विषय, बाढीपहिरोबाट भएको जनधनको क्षति तथा जलविद्युत् आयोजनामा परेको असरले लगानीकर्ताको मनोबलमा प्रभाव पार्न सक्छ । शेयर बिक्री गर्नुअघि सूचना दिनुपर्ने व्यवस्थासम्बन्धी विषयले पनि बजारमा थप चासो सिर्जना गरेको छ । आगामी दिनमा शेयर खरिदको माग बढ्नु, लगानीकर्ताको मनोबलमा सुधार आउनु र बजारमा सकारात्मक संकेत कायम रहनु नै शेयर बजारको दिगो सुधारका लागि महत्त्वपूर्ण हुने देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.३२ अकंले बढेर २६२१.२६ बिन्दुमा कायम भएको छ । आज ३५४ कम्पनीको १ करोड १६ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १२ करोड ६० लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १३ उपसूचकमा सुुधार देखिएको छ । आज वाणिज्य बैंक समूहको १.४५ प्रतिशत, विकास बैंक समूहको १.१९ प्रतिशतले शेयर मूल्य बढेको हो ।
बुधबार १८८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८० कम्पनीको घटेको छ । ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।












