साउन र भदौमा २ अर्ब ५७ करोडको बीमा पोलिसी सरेण्डर, १० लाखभन्दा बढी पोलिसी नवीकरण भएनन्

काठमाडौं । चालु आर्थिक वर्ष २०८३।०८४ को २ महिनाको अवधिमा पोलिसी सरेण्डर रकम साढे २ अर्बभन्दा बढी पुगेको छ । बीमा नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा जीवन बीमा कम्पनीहरुबाट २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ बाहिरिएको हो ।
उक्त सरेण्डर रकम गत आर्थिक वर्ष २०८२।०८३ को सोहि अवधिको तुलनामा २.९४ प्रतिशत कम हो । गत आर्थिक वर्षको साउन र भदौ महिनामा जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत २ अर्ब ५० करोड ७ लाख रुपैयाँ बाहिरिएको थियो ।
सरेण्डर रकमसँगै बीमालेख त्याग गर्नेको संख्या भने गत आर्थिक वर्षको २ महिनाको तुलनामा चालु आर्थिक वर्षको २ महिनामा ५.६७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षकोे २ महिनामा १५ हजार ८९८ जनाले बीमालेख सपर्मण गरेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा भने १४ हजार ९९६ जनाल मात्रै पोलिसी समर्पण गरेका छन् ।

त्यस्तै, जीवन बीमकहरुमा व्यतित बीमालेख रकम (नविकरण नगरिएको रकम) भने २.३० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको २ महिनासम्मा बीमालेख नविकरण नगरिएको रकम ३५ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा व्यतित बीमालेख रकम ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।
यता व्यतित बीमालेखको संख्या पनि १६.६९ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा १० लाख १० हजार ९९६ वटा बीमा पोलिसीहरु रिन्यू भएका छैनन् । गत आवको सोही अवधिसम्म यस्तो संख्या १२ लाख १३ हजार ५६२ रहेको थियो ।











