दशैं बिदामा पनि बीमा दाबी सेवा सुचारु, बाढी प्रभावितका लागि सम्पर्क व्यक्ति तोकियो

काठमाडौं।देशभर दशैंको रौनक छाएसँगै सार्वजनिक बिदा सुरु हुन लागेको अवस्थामा पनि निर्जीवन बीमा कम्पनीहरुले आफ्नो सेवालाई निरन्तरता दिने भएका छन्। हालै रसुवा र कालीगण्डकी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका बीमितहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीहरुले दशैंको बिदामा पनि बीमा दाबी सेवा सुचारु राख्ने निर्णय गरेका हुन्।
विशेष गरी बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिमा परेका नागरिकहरुलाई चाडपर्वको समयमा थप समस्या नहोस् र उनीहरुको आर्थिक क्षतिको मूल्यांकन तथा भुक्तानी प्रक्रियामा ढिलाइ नहोस् भन्ने हेतुले यो विशेष व्यवस्था गरिएको हो। कम्पनीहरुले बीमितहरुको गुनासो सुन्न, दाबी दर्ता गर्न र आवश्यक सहजीकरणका लागि छुट्टाछुट्टै सम्पर्क व्यक्ति ९फोकल पर्सन० समेत तोकेका छन्।
लामो चाडबाडको बिदामा कार्यालयहरु बन्द रहँदा विपतमा परेका बीमितहरु अलपत्र नपरुन् भन्नका लागि निर्जीवन बीमा व्यवसायीहरुले उत्तरदायी बन्दै यो कदम चालेका हुन्। बाढी प्रभावित क्षेत्रका बीमितहरुले आफ्नो क्षति भएको सम्पत्ति वा व्यवसायको बीमा दाबीका लागि कम्पनीले तोकेका सम्पर्क व्यक्तिहरुसँग सिधै सम्पर्क गरी सेवा लिन सक्नेछन्। यसले संकटको घडीमा बीमितहरुलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ।











