आज विश्व विकास सूचना दिवस

काठमाडौं । आज अक्टोवर २४ तारिख । आजको दिन विश्वभर नै विभिन्न कार्यक्रम गरी ‘विश्व विकास सूचना दिवस’ मनाइदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा संयुक्त राष्ट्र संघ दिवसकै दिन हरेक वर्ष अक्टोबर २४ तारिखका दिन यो दिवस नेपालसहित संसारभर मनाउने गरिन्छ ।
आजको विश्वमा विकासका चुनौतीहरू र आर्थिक समृद्धिका समस्याहरूतर्फ विश्व समुदायको ध्यानाकर्षण गराउने तथा ती समस्या समाधानका लागि अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ पार्ने मुख्य उद्देश्यका साथ सन् १९७२ देखि प्रत्येक वर्ष विश्व विकास सूचना दिवस मनाउन लागिएको हो ।
सन् १९७० अक्टोबर २४ का दिन पारित गरिएको ‘दोस्रो संयुक्त राष्ट्रसंघीय विकास दशकको अन्तर्राष्ट्रिय विकास रणनीति’ को ऐतिहासिक क्षणलाई स्मरण गर्दै संयुक्त राष्ट्रसंघको महासभाले सन् १९७२ अक्टोवर २४ मा पहिलो पटक यो दिवस मनाउन सुरुवात गरिएको थियो ।
यस वर्ष विश्वभर भर्चुअल तथा स्थलगत अन्तक्र्रियाहरू भइरहेका छन् । विकास सम्बद्ध विज्ञहरूले डिजिटल प्रविधि र सूचनाको न्यायसम्मत पहुँचमा जोड दिएका छन् । आधुनिक सूचना र सञ्चार प्रविधि (आईसीटी) ले विकासका विश्वव्यापी चुनौतीहरू, जस्तै– गरिबी निवारण, गुणस्तरीय शिक्षाको पहुँच, जलवायु परिवर्तनको असर न्यूनीकरण र सामाजिक समावेशीकरणका लागि नयाँ समाधान प्रदान गर्न सक्ने औँल्याइएको छ ।











