नेपालमा प्रियागोल्ड बिस्कुट बिक्रीमा प्रतिबन्ध, बजारबाट तत्काल फिर्ता गर्न निर्देशन

काठमाडौं । भारतमा खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी मापदण्ड गम्भीर रूपमा उल्लङ्घन गरेको पाइएपछि भारतीय कम्पनी सूर्य फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गर्दै आएको प्रियागोल्ड बिस्कुटको बिक्री वितरणमा नेपाल सरकारले रोक लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध उक्त बिस्कुट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
विभागका अनुसार भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले कम्पनीको अनुमतिपत्र निलम्बन गरेपछि नेपालमा पनि उक्त उत्पादनको आयात, बिक्री वितरण र उपभोग रोक्ने निर्णय गरिएको हो। भारतीय पक्षले सन् २०२६ अक्टोबर १७ मा जारी गरेको सूचनाका आधारमा नेपालले यस्तो कदम चालेको विभागले जनाएको छ।
भारतीय नियामक निकायको सूचनाअनुसार कम्पनीले उत्पादन गरेका बिस्कुटमा पशु आहारका रूपमा प्रयोग गर्नुपर्ने सामग्री मानव उपभोगका लागि प्रयोग गरिएको पाइएको छ। यसका साथै कारखानामा सरसफाइ, कीट नियन्त्रण, कच्चा पदार्थको भण्डारण र कर्मचारीको व्यक्तिगत स्वच्छतासम्बन्धी मापदण्डमा समेत गम्भीर कमजोरी भेटिएको जनाइएको छ।
कारखानामा आवश्यक मर्मतसम्भारको अभाव रहेको र खाद्य उत्पादनका क्रममा पालना गर्नुपर्ने स्वच्छतासम्बन्धी नियमसमेत उल्लङ्घन भएको पाइएको भारतीय पक्षको सूचनामा उल्लेख छ। सोही आधारमा कम्पनीको अनुमतिपत्र निलम्बन गर्नुका साथै कानुनी कारबाही अघि बढाउन स्वीकृति दिइएको जनाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णले नेपालमा उक्त बिस्कुट आयात गर्ने आधिकारिक आयातकर्ता तथा सम्बन्धित खाद्य व्यवसायीलाई बजारमा रहेका सबै उत्पादन तत्काल फिर्ता गर्न निर्देशन दिएका छन्। फिर्ता गरिएका बिस्कुटको सुरक्षित व्यवस्थापन गर्न र त्यसको अभिलेख राख्नसमेत विभागले भनेको छ।
विभागले सम्बन्धित स्थानीय तह र स्थानीय प्रशासनलाई बजार अनुगमन गरी निर्देशन कार्यान्वयन गराउन आग्रह गरेको छ। साथै, उपभोक्तालाई प्रियागोल्ड बिस्कुट खरिद तथा उपभोग नगर्न सचेत गराइएको छ।











