नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा छुट

१० कार्तिक २०८३, मंगलवार ०९:३१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लामो समयदेखि नवीकरण बीमाशुल्क नतिरेका बीमितलाई विलम्ब शुल्कमा ३० प्रतिशतसम्म छुट दिने भएको छ।

कम्पनीले कात्तिक १० देखि मंसिर २४ गतेसम्म बक्यौता बीमाशुल्क तिरेर बीमालेख नवीकरण गर्ने ग्राहकलाई यस्तो सुविधा दिन लागेको हो। कम्पनीका अनुसार १८० दिनभन्दा बढी समयदेखि नवीकरण बीमाशुल्क नतिरेका बीमितले यो सुविधा पाउनेछन्। बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा बीमालेखको बक्यौता अवधि हेरेर छुट दिइनेछ।

योजनाअन्तर्गत तीन वर्षसम्म नवीकरण नभएका बीमालेखमा लाग्ने विलम्ब शुल्कमा ३० प्रतिशत छुट दिइनेछ। त्यस्तै तीन वर्षभन्दा बढी र पाँच वर्षसम्म नवीकरण नभएका बीमालेखमा २५ प्रतिशत तथा पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नभएका बीमालेखमा २० प्रतिशत छुट पाइनेछ।

तर यो छुट बीमाशुल्कमा नभई बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा मात्र लागू हुने कम्पनीले स्पष्ट पारेको छ। कम्पनीले छुट सुविधामा केही सर्तसमेत राखेको छ। छुट लिएर बीमालेख पुनर्जागरण अर्थात् पुनः सक्रिय गराएको मितिले एक वर्षभित्र बीमितले बीमालेख समर्पण गरेमा छुटबाट पाएको सम्पूर्ण रकम कट्टा गरिनेछ।

त्यस्तै एक पटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितले सोही बीमालेखमा पूरा बीमा अवधिभर पुनः यस्तो छुट पाउने छैनन्। १८० दिनभन्दा बढी समयदेखि नवीकरण नभएका बीमालेख मात्र यस योजनामा समावेश हुने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*