सिटी एक्सप्रेसको आम्दानीमा धक्का: ८२ करोडबाट झर्यो ५६ करोडमा, १ अर्ब कर्जाका लागि रेटिङ

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिको सञ्चालन आम्दानी पछिल्ला चार वर्षमा ३२ प्रतिशतभन्दा बढीले घटेको छ। रेमिट्यान्स बजारमा बढ्दो प्रतिस्पर्धा, आन्तरिक रेमिट्यान्स कारोबारमा नियामकीय प्रतिबन्ध तथा नगद भुक्तानीको सट्टा रकम सीधै बैंक खातामा जम्मा गर्ने प्रवृत्ति बढ्दै जाँदा कम्पनीको आम्दानीमा निरन्तर दबाब परेको हो। आम्दानी घट्ने क्रमसँगै कम्पनीको कमिसनबाट हुने आम्दानीसमेत खुम्चिएको छ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ८२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। तर, आर्थिक वर्ष २०८२/८३ मा यस्तो आम्दानी घटेर ५६ करोड १० लाख रुपैयाँमा सीमित भएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडको प्रतिवेदनअनुसार चार वर्षको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३२.१ प्रतिशतले घटेको हो।
कम्पनीको आम्दानी आर्थिक वर्ष २०७९/८० मा ७६ करोड ८० लाख रुपैयाँमा झरेको थियो। त्यसपछि आर्थिक वर्ष २०८०/८१ मा ६६ करोड ४० लाख र आर्थिक वर्ष २०८१/८२ मा ५६ करोड ७० लाख रुपैयाँमा सीमित भएको थियो। आम्दानी घट्ने क्रम आर्थिक वर्ष २०८२/८३ मा पनि रोकिएन। यद्यपि, पछिल्लो वर्ष आम्दानी ५६ करोड १० लाख रुपैयाँमा झर्दै लगभग स्थिर देखिएको छ।
रेमिट्यान्स बजारमा स्थापित कम्पनी, बैंक तथा वित्तीय संस्था, डिजिटल भुक्तानी प्रणाली र वित्तीय प्रविधिमा आधारित सेवा प्रदायकबीच प्रतिस्पर्धा बढ्दै गएको छ। यसले सिटी एक्सप्रेसको कमिसन आम्दानीमा दबाब सिर्जना गरेको छ। त्यस्तै, आन्तरिक रेमिट्यान्स कारोबारमा नियामकीय प्रतिबन्ध र नगद कारोबारको सट्टा रकम सीधै बैंक खातामा जम्मा गर्ने प्रवृत्ति बढ्दा कम्पनीले प्राप्त गर्ने कमिसन घटेको प्रतिवेदनमा उल्लेख छ। बैंक खातामा सीधै रकम जम्मा हुने कारोबारमा सामान्यतया कमिसन आम्दानी कम हुने भएकाले कम्पनीको कुल आम्दानीमा असर परेको हो।
कम्पनीको आम्दानीको संरचनामा समेत उल्लेख्य परिवर्तन आएको छ। आर्थिक वर्ष २०८२/८३ मा कुल सञ्चालन आम्दानीमध्ये कमिसनबाट प्राप्त आम्दानीको हिस्सा करिब २६ प्रतिशतमा सीमित भएको छ भने विदेशी मुद्रा विनिमयबाट प्राप्त आम्दानीको हिस्सा ७४ प्रतिशत पुगेको छ। यसले कम्पनीको आम्दानी विनिमय कारोबारमा बढी निर्भर हुँदै गएको देखाउँछ। विदेशी मुद्रा विनिमयबाट हुने आम्दानीले पछिल्लो वर्ष कुल सञ्चालन आम्दानीलाई स्थिर राख्न सहयोग गरे पनि कमिसन आम्दानीमा आएको गिरावटले कम्पनीको परम्परागत आम्दानीको आधार कमजोर बनाएको छ।
आम्दानीमा गिरावट आए पनि कम्पनीको सञ्चालन नाफा अनुपातमा भने केही सुधार देखिएको छ। ब्याज, कर, मूल्यह्रास तथा परिशोधनअघिको सञ्चालन नाफा अनुपात आर्थिक वर्ष २०७९/८० मा ३६.३८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा घटेर २३.७९ प्रतिशतमा पुगेको थियो। आर्थिक वर्ष २०८२/८३ मा भने यो अनुपात बढेर २७.६५ प्रतिशत पुगेको छ। यद्यपि, पछिल्लो सुधारका बाबजुद कम्पनीको नाफा अनुपात आर्थिक वर्ष २०७९/८० को उच्च बिन्दुभन्दा निकै तल रहेको छ।
कम्पनीको ऋण भुक्तानी क्षमतामा समेत अघिल्लो वर्षको तुलनामा दबाब देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा ऋण भुक्तानी क्षमता अनुपात ४.२९ गुणा र ब्याज भुक्तानी क्षमता अनुपात ४ गुणा रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा यी अनुपात क्रमशः ६.०६ गुणा र ५.०४ गुणा थिए। वित्तीय लागत बढ्नुले ऋण तथा ब्याज भुक्तानीसम्बन्धी सूचकमा गिरावट आएको प्रतिवेदनमा उल्लेख छ।
सिटी एक्सप्रेसले देशभर २५ हजारभन्दा बढी प्रतिनिधिमार्फत सेवा दिँदै आएको छ। नेपाल भित्रिने रेमिट्यान्समा कम्पनीको बजार हिस्सा करिब १४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। सन् २००७ जुलाई ११ मा स्थापना भएको कम्पनीले १९ वर्षभन्दा लामो समयदेखि रेमिट्यान्स कारोबार गर्दै आएको छ। कम्पनी नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त निजी कम्पनी हो र विविध व्यवसायमा संलग्न सिटी एक्सप्रेस समूहअन्तर्गत सञ्चालन हुँदै आएको छ। यसको मुख्य कार्यालय काठमाडौंको कमलादीमा रहेको छ। कम्पनीले विभिन्न देशका साझेदार संस्थामार्फत अनेक मुद्रा र माध्यमबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।
कम्पनीको व्यवसाय खाडी मुलुकबाट आउने रेमिट्यान्समा तुलनात्मक रूपमा बढी निर्भर छ। खाडी मुलुक नेपाली कामदारका प्रमुख श्रम गन्तव्य भएकाले ती देशमा रोजगारीको अवस्था बिग्रिएमा, आप्रवासन नीति परिवर्तन भएमा, श्रमसम्बन्धी नियम कडा भएमा वा आर्थिक तथा भूराजनीतिक परिस्थितिमा प्रतिकूल परिवर्तन आएमा नेपाल भित्रिने रेमिट्यान्स प्रभावित हुन सक्छ। त्यसको प्रत्यक्ष असर सिटी एक्सप्रेसको कारोबारमा पर्न सक्ने जोखिम रहेको प्रतिवेदनमा औँल्याइएको छ।
त्यसैगरी, नेपाल राष्ट्र बैंकका निर्देशन, रकम स्थानान्तरणसम्बन्धी प्रतिबन्ध, वैदेशिक रोजगारीका नीतिमा हुने परिवर्तन तथा रकम पठाउने स्रोत देशमा लागू हुने कानुनी र अनुपालनसम्बन्धी व्यवस्थाले कम्पनीको सञ्चालनमा थप चुनौती सिर्जना गर्न सक्छन्। घरेलु तथा अन्तर्राष्ट्रिय नियामकीय व्यवस्था निरन्तर परिवर्तन भइरहने भएकाले कम्पनीले नियम पालना गर्न लाग्ने खर्च बढ्ने र व्यवसाय सञ्चालन प्रभावित हुने जोखिम पनि रहेको छ। यी जोखिम व्यवस्थापन गर्न सम्बन्धित देशको नियामकीय वातावरणमा हुने परिवर्तनको निरन्तर निगरानी र समयमै अनुकूलन आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ।
सिटी एक्सप्रेसले रेमिट्यान्स कारोबारबाहेक अन्य वित्तीय सेवासम्बन्धी क्षेत्रमा पनि लगानी गरेको छ। कम्पनीले स्मार्ट च्वाइस टेक्नोलोजिज प्रालिमा ८ करोड ७२ लाख रुपैयाँ र सिटी वालेट प्रालिमा १० करोड रुपैयाँ लगानी गरेको छ। यद्यपि, आम्दानीको मुख्य आधार रेमिट्यान्स व्यवसाय नै रहेकाले यस क्षेत्रमा देखिएको प्रतिस्पर्धा र नियामकीय जोखिमले कम्पनीको समग्र वित्तीय अवस्थालाई प्रभावित गरेको छ ।
कम्पनीको चुक्ता पुँजी २०८३ असार मसान्तसम्म ५० करोड रुपैयाँ रहेको छ। सेयर स्वामित्व तुलनात्मक रूपमा विविध रहेको कम्पनीमा दोलराज शर्मा, चन्द्र तण्डन, हेमबहादुर गुरुङ र महेशकुमार श्रेष्ठको समान २०–२० प्रतिशत सेयर स्वामित्व छ। त्यस्तै, सुनील पानी गौतमको १५.५० प्रतिशत र कृष्णराज पौडेलको ४.५० प्रतिशत सेयर स्वामित्व रहेको प्रतिवेदनमा उल्लेख छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको एक अर्ब रुपैयाँ बराबरको अल्पकालीन बैंक कर्जा सुविधालाई ‘आईआरएन ए२ प्लस’ रेटिङ दिएको छ। कम्पनीको लामो सञ्चालन अनुभव, विस्तृत प्रतिनिधि सञ्जाल, कम ऋणभार र पर्याप्त ऋण भुक्तानी क्षमतालाई रेटिङको आधार बनाइएको छ। रेटिङ मूल्याङ्कन कम्पनीको छुट्टै वित्तीय अवस्थाका आधारमा गरिएको प्रतिवेदनमा उल्लेख छ।
तस्बिर: Ai











