निफ्राको प्रथम त्रैमासिक विवरणः नाफा २० प्रतिशतले घट्यो, निक्षेप र कर्जामा भने उल्लेख्य वृद्धि

१० कार्तिक २०८३, मंगलवार ०९:४९

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा खुद नाफा २०.१६ प्रतिशतले घटेको छ। बैंकले असोज मसान्तसम्म १६ करोड ६४ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा २० करोड ८५ लाख ४० हजार रुपैयाँ थियो।

बैंकको ब्याज आम्दानी घट्नु र कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम बढ्नुले नाफामा दबाब परेको हो। यद्यपि बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा भने उल्लेख्य वृद्धि गरेको छ। समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ३.९३ प्रतिशतले घटेर ५९ करोड ७४ लाख ११ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ६२ करोड १८ लाख ६५ हजार रुपैयाँ थियो।

यस अवधिमा बैंकको ब्याज खर्च भने १.७६ प्रतिशतले बढेर २५ करोड ३१ लाख ४६ हजार रुपैयाँ पुगेको छ। ब्याज आम्दानी घट्नु र खर्च बढ्नुका कारण बैंकको खुद ब्याज आम्दानी ७.७३ प्रतिशतले घटेर ३४ करोड ४२ लाख ६५ हजार रुपैयाँमा झरेको छ। बैंकको शुल्क तथा कमिसनबाट हुने आम्दानी भने ५८.४५ प्रतिशतले बढेर २ करोड १ लाख ८७ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १ करोड २७ लाख ४० हजार रुपैयाँ थियो।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको कुल सञ्चालन आम्दानी ५.५४ प्रतिशतले घटेर ३६ करोड ४४ लाख ५२ हजार रुपैयाँ कायम भएको छ। यस अवधिमा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम २१५.४८ प्रतिशतले बढेर ३ करोड ८७ लाख १६ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो रकम १ करोड २२ लाख ७२ हजार रुपैयाँ थियो।

यसको असर बैंकको सञ्चालन नाफामा पनि परेको छ। बैंकको सञ्चालन नाफा १९.५० प्रतिशतले घटेर २४ करोड १ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ। नाफा घटे पनि बैंकले आफ्नो व्यवसाय विस्तारमा प्रगति गरेको छ। असोज मसान्तसम्म बैंकको निक्षेप संकलन ५४.०४ प्रतिशतले बढेर १२ अर्ब ४ करोड ५१ लाख ७९ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकको निक्षेप ७ अर्ब ८१ करोड ९६ लाख ६५ हजार रुपैयाँ थियो।

त्यस्तै बैंकको कर्जा प्रवाह ३०.५२ प्रतिशतले बढेर ३४ अर्ब १७ करोड ४७ लाख ९६ हजार रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति पनि ५.५० प्रतिशतले बढेर ४४ अर्ब ३२ करोड ३६ लाख ८० हजार रुपैयाँ कायम भएको छ। बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँमा स्थिर रहँदा जगेडा तथा कोष ३८ प्रतिशतले घटेर २ अर्ब ६७ करोड ३६ लाख ७ हजार रुपैयाँ कायम भएको छ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत वर्षको पहिलो त्रैमासमा ३ रुपैयाँ ८६ पैसा रहेको प्रतिशेयर आम्दानी यस वर्ष घटेर ३ रुपैयाँ ८ पैसा कायम भएको छ। असोज मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ३८ पैसा रहेको छ। बैंकको निष्क्रिय कर्जा गत वर्ष शून्य रहेकामा यस वर्ष ०.०३५ प्रतिशत पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*